ताप्लेजुङमा १३ राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता
ताप्लेजुङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ताप्लेजुङमा १३ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङका जिल्ला न्यायाधीश विकास श्रेष्ठले १३ राजनीतिक दलले उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवम् ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहका अनुसार नेपाली काँग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङको उम्मेदवारी दर्ता भएको छ । उहाँ काँग्रेस ताप्लेजुङका सभापति हुनुहुन्छ ।
नेकपा एमालेबाट क्षितिज थेबेको उम्मेदवारी दर्ता भएको छ । थेबे एमाले केन्द्रीय सदस्य तथा युवा संघका केन्द्रीय अध्यक्ष हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट खेलप्रसाद बुढाक्षेत्री (पराग)को उम्मेदवारी परेको छ । उहाँ साविक नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट जिल्ला सभापति वीरेन्द्र श्रेष्ठको उम्मेदवारी परेको छ । उहाँ जलविद्युत क्षेत्रको व्यवस्थापक जानकार तथा गायन क्षेत्रका अभियन्ता हुनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्द्रप्रसाद थापाको उम्मेदवारी परेको छ । श्रम संस्कृति पार्टीबाट सन्तोष राई उम्मेदवार बन्नु भएको छ । राई जिल्ला समन्वय समिति सदस्य पद छाडेर प्रतिनिधिसभाको उम्मेदवार बन्नु भएको छ ।
उज्यालो नेपाल पार्टीबाट कीर्तिमान मादेन उम्मेदवार बन्नुभएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट संघीय सदस्य मुक्साम लावुङको उम्मेदवारी परेको छ । जनता समाजवादी पार्टी नेपालबाट सूर्य तमू, जनता समाजवादी पार्टीबाट अरुण लेछर्बो र नेपाल जनमुक्ति पार्टीबाट जिल्ला अध्यक्ष इन्द्रकुमार थुलुङको उम्मेदवारी परेको छ । मंगोल नेसनल अर्गनाइजेसनबाट सन्तबहादुर लिम्बू उम्मेदवार बनेका छन् । नेत्रविक्रम चन्द‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट नरपति पौडेल उम्मेदवार बन्नु भएको छ ।
यता ताप्लेजुङमा महिला तथा स्वतन्त्रको उम्मेदवार नपरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्