इलाम–२ मा सुहाङ नेम्बाङसहित विभिन्न दलका उम्मेदवारको मनोनयन दर्ता सुरु
इलाम। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाममा उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ। नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले इलाम निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

उहाँसँगै जनमुक्ति पार्टीका उम्मेदवार याम योङहाङ लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गणेशप्रसाद दुलाल, मगोल नेशनल अर्गनाइजेशनका स्याम लिम्बु, श्रम संस्कृति पार्टीका सुदीप राई तथा राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईले पनि मनोनयन दर्ता गराइसकेका छन्।
निर्वाचन कार्यक्रमअनुसार माघ ६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सुरु गरिएको हो। इलाम निर्वाचन क्षेत्र नम्बर–१ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाम सदरमुकाममा रहेको छ भने इलाम निर्वाचन क्षेत्र नम्बर–२ का लागि निर्वाचन अधिकृतको कार्यालय सूर्योदय नगरपालिका–फिक्कलमा स्थापना गरिएको छ।
जिल्लामा रहेका ठूला राजनीतिक दलहरूले पार्टीले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेका जनाइएको छ।
मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार मनोनयन दर्ता गर्ने समय बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म तोकिएको छ। मनोनयन दर्तापछि उम्मेदवारको नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्