तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा निर्वाचनको सम्पुर्ण तयारी पूरा 

बीरगंज। पर्सामा आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनको आवश्यक सम्पुर्ण तयारी पुरा भएको छ । 

आगामी निर्वाचनको सम्बन्धमा पर्सा जिल्लाका राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मीहरूसँग आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा पर्सा जिल्लाका मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले निर्वाचनका लागि पर्सामा आवश्यक सम्पुर्ण तयारी पुरा भएको बताउनुभयो । 

उहाँले निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृत रेग्मीले माघ ६ गते हुने उम्मेदवार दर्ताका लागि पर्साका ४ वटै निर्वाचन क्षेत्रमा आवश्यक सबै तयारी गरिएको बताउनुभयो । 

उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मङ्गलवार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्धवारी दर्ताको समयसीमा तोकिएको जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृत रेग्मीले पर्सा क्षेत्र नं १ र २ का उम्मेदवारहरूले जिल्ला समन्वय समिति, पर्सामा, क्षेत्र नं ३ का उम्मेदवारहरूले पोखरिया नपामा स्थापित निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं ४ का उम्मेदवारले लङ्गडीमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्धवारी मनोनयनपत्र दर्ता गराउन सक्नेगरी व्यवस्था मिलाइएको बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सन्तोष ढुङ्गेल, निर्वाचन अधिकृत अनामिका रौनियार, जिल्ला न्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठ, न्यायाधीश मधुसूदन आचार्य, श्रेस्तेदार प्रभाकर मल्लिक राजनीतिक दलहरूको तर्फबाट नेपाली काँग्रेस पर्साका सचिव रमेशनाथ पाण्डेय, नेकपाका बाबुराम कौशिक, राप्रपाका सुमेश्वरनाथ उपाध्याय, पन्नालाल पटेल, रास्वपाका योगेन्द्र कुर्मी, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button