तपाईँ सुन्दै हुनुहुन्छः

इलामको माइबेनीमा माघे सङ्क्रान्ति मेला

इलाम । विगतका वर्षमा जस्तै यस पटक पनि इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक एवं ऐतिहासिक क्षेत्र माईबेनीमा माघे सङ्क्रान्ति मेला लागको  छ । यस वर्ष पनि मेला भर्न आउनेको घुइँचो लागेको छ ।

माईबेनीमा पूजाआजा गर्न र मेलाको रमाइलो अवलोकन गर्न इलाम सहित झापा पाँचथर र छिमेकी देश भारत दार्जिलिङका विभिन्न स्थान बाट मानिसहरू आएका थिए । माइबेनी मेलाको लामो इतिहास छ । वि स  १९२० मा गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए पछि   यहाँ मेला लाग्दै आएको जानकारहरू बताउँछन्  ।

माइबेनी मेला धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । मेलामा मकर स्नान गर्न , भाकल पूरा गर्न र  शिवालय तथा नदीमा पूजाआजा गर्न भीड लाग्ने गरेको छ ।

मेलाको  अवसरमा स्थानीय उत्पादन  सुन्तला र उखुको व्यापार हुने गरेको छ। इलाम  ,  झापा र  भारतका विभिन्न स्थानबाट पनि व्यापारी यहाँ आएको मेला व्यवस्थापन समिति अध्यक्ष सनमान लिम्बूले बताउनु भयो ।

माईबेनी मेला व्यवस्थापन समितिले माघे सङ्क्रान्ति मेलालाई लक्षित गरि  यलम्बर पार्क, शिवालय मन्दिरको रंगरोगन गरेको छ ।  मेलामा रोटेपिङ तथा विभिन्न मनोरञ्जनात्मक खेल सञ्चालन गरिएको छ ।

माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ मानिसहरू यस स्थानमा मेला भर्न र मकर स्नान गर्न आउने गर्दछन् । इलाम जिल्लाको माईजोग्माई गाउँपालिका र इलाम नगरपालिका अन्तर्गत माईबेनीमा वर्षौँअघिदेखि लाग्दै आएको मेला विगतमा भन्दा धेरै परिवर्तन  हुँदै आएको छ । यातायातको सहज पहुँच मेला भर्न आउनेलाई सहज भएको छ भने व्यवस्थापन पनि राम्रो हुँदै गएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button