तपाईँ सुन्दै हुनुहुन्छः

कावा सभापति खड्काद्वारा पार्टीमा एकताका साथ अगाडि बढ्न आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । 

काँग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्द सत्र चलिरहेको परिस्थितिमा उहाँले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गर्नुभएको हो ।

कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । “अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ”, विज्ञप्तिमा भनिएको छ ।

उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक तथा संवैधानिक  व्यवस्थालाई पुनः सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । यस अवस्थामा नेपाली काँग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य रहेको बताउँदै उहाँले काँग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएकाले सबैले आपसी समन्वयसहित एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

काँग्रेसले देशमा विषम् परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको कार्यवाहक सभापति खड्काले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“काँग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएकाले हाम्रो काँधमा फेरी एक पटक ऐतिहासिक जिम्मेवारी आएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गएपछि विसं २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गरी नेतृत्व सहज रूपले परिवर्तन गर्न सक्ने अवस्था सुनिश्चित छ । तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अभियानका रूपमा लाग्न आवश्यक छ”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button