तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा निर्वाचन तयारी तीव्र, अस्थायी मतदाताको विवरण सङ्कलन गरिँदै

नेपालगञ्ज। फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा बाँकेमा तयारी तीव्र पारिएको छ ।

जिल्लामा अहिले अस्थायी मतदाताको विवरण सङ्कलन गर्ने कार्य चलिरहेको छ । बाँकेमा १७ हजार ५ सय ५ जना मतदाता थपिएका छन् । जिल्लामा अब मतदाताको कुल सङ्ख्या ३ लाख ५१ हजार ४ सय ३९ पुगेको छ । यस अघि ३ लाख ३३ हजार ९ सय ३४ जना मतदाता थिए । बाँकेमा ३ वटा निर्वाचन क्षेत्र छन् । एउटा मतदान स्थल पनि थपिएको छ भने मतदान केन्द्रको सङ्ख्या पनि बढाइएको छ । 

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीका अनुसार मतदान स्थल १३९ कायम गरिएको छ भने मतदान केन्द्र ३८० बाट बढेर ४०० पुगेको छ । कोहलपुर नगरपालिकाको वडा नम्बर ८ र ९, खजुरा गाउँपालिकाको वडा नम्बर ७ र राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ को मतदान केन्द्र अपायक भएकाले पायक पर्ने स्थानमा सारिएको छ ।

मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन भागमा बाँडेर त्यसै अनुरुप सुरक्षा रणनीति बनाइँदै छ । सर्वदलीय, सर्वपक्षीय छलफल भइरहेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले निर्वाचन सुरक्षा योजना तयार पारेर लागू गरिएको बताउनुभयो । निर्वाचन कार्यालयले अहिले अस्थायी मतदाताको विवरण सङ्कलन कार्य गरिरहेको छ । विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरूको विवरण माग गरिएको छ । जिल्लामा ६ हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ ।

जिल्लामा २ सय ४१ वटा निवेदन त्रुटि सच्याउन र ४ सय ६८ वटा निवेदन अद्यावधिक गर्नका लागि परेको छ । कार्यालयले दोहोरो नाम भएका ९ सय ५४ जनाको नाम हटाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button