कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका ३१ जिल्लाका बिरामीको उपचार केन्द्र बन्दै भेरी अस्पताल
बाँके। बाँकेको भेरी अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। पश्चिम नेपालकै प्रमुख सरकारी रिफरल अस्पतालका रूपमा रहेको भेरी अस्पतालमा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ३१ जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन्।
डायलासिस, इमर्जेन्सी, प्रसूति, अर्थोपेडिकलगायत अधिकांश वार्ड दैनिक भरिभराउ हुने गरेका छन्। बेड अभाव भए पनि खाली स्थान र कोलियामा राखेरसमेत उपचार सेवा दिइरहेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट निराजन सुवेदीले जानकारी दिनुभयो।
प्रसूति वार्डमा १० बेडको क्षमतामा दैनिक २८ देखि ३० जनासम्म सुत्केरी गराउनुपर्ने अवस्था छ। बेड अभावका बाबजुद पनि अतिरिक्त व्यवस्थापन गरी सेवा निरन्तर दिइँदै आएको अस्पतालले जनाएको छ।
दैलेखबाट उपचारका लागि आएका धिरज रेग्मीले बेड नपाए पनि उपचारमा समस्या नआएको बताउनुभयो। उहाँका अनुसार डाक्टर र नर्सले नियमित रूपमा बिरामीको अवस्था हेर्ने र आवश्यक सल्लाह दिने गरेका छन्।
निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम हटेपछि पछिल्लो करिब एक वर्षयता भेरी अस्पतालमा सुरक्षित सुत्केरी सेवाको चाप बढेको चिकित्सकहरू बताउँछन्। बर्दियालगायत केही जिल्लामा पर्याप्त चिकित्सक नहुँदा पनि भेरी अस्पतालमै बिरामी आउने क्रम बढेको स्त्री तथा प्रसूति विभाग प्रमुख डा. उर्मिला पराजुलीले जानकारी दिनुभयो।
अस्पतालका तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो पाँच महिनामा २ हजार ६ सय ४० महिलालाई सुत्केरी सेवा दिइएको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या बढेर ३ हजार २ सय ७५ पुगेको छ।
प्रसूति सेवासँगै डायलासिस, आइसियु, एनआइसियु, मेडिकल, अर्थोपेडिक र इमर्जेन्सी वार्डमा पनि बिरामीको चाप बढ्दो छ। कम जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि स्वास्थ्यकर्मीले सेवा दिइरहेको अस्पताल प्रशासनले जनाएको छ।
भेरी अस्पतालको बढ्दो चापले पश्चिम नेपालमा स्वास्थ्य सेवा विस्तार र स्रोतसाधन थप्नुपर्ने आवश्यकता देखाएको छ।








प्रतिक्रिया राख्नुहोस्