तपाईँ सुन्दै हुनुहुन्छः

८१ स्थानीय तहमा उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुने

नेपालगन्ज । पश्चिम नेपालका तीन प्रदेशका ८१ स्थानीय तहमा उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुने भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम सञ्चालन हुन थालेको हो । लुम्बिनीका ८, कर्णालीका ८ र सुदूरपश्चिमका ५ जिल्ला यसमा समेटिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उच्च मूल्य कृषि बस्तु उत्थानशील कार्यक्रम, कार्यक्रम समन्वय कार्यालय कीर्तिपुर काठमाडौँले नेपालगन्जमा आयोजना गरेको दुई दिने अभिमुखीकरणमा परियोजनाका बारेमा जानकारी गराइएको छ । आठ वर्षसम्म सञ्चालन गरिने परियोजनाका लागि १२० दशमलव ९७ मिलियन डलर खर्च गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो । कार्यक्रमले जलवायु उत्थानशील उच्च कृषि वस्तुलाई प्रवर्द्धन गर्ने, आय र रोजगारीको अवसर बढाउने र खाद्य तथा पोषण सुरक्षा बलियो बनाउने उद्देश्य राखिएको कार्यक्रम संयोजक गोकुलप्रसाद बोहराले बताउनुभयो । कार्यक्रम अन्तर्गत साना किसान, युवा र गरिब घरपरिवार लाभान्वित हुने बताइएको छ ।

दुई दिने कार्यक्रमको समापन गर्दै कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्री डा। मदन परियारले स्थानीय तहमा आधारित रहेको परियोजनाले उपलब्धि पनि राम्रो ल्याउने बताउनुभयो । उहाँले कृषि लगानी र प्रविधि महिलामैत्री बनाउनुपर्ने, युवा पलायन रोक्नु पर्ने, गरिब लक्षित कार्यक्रमहरू बनाउनुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाह, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले कृषिको अनुदान काम गर्नेलाई दिनु पर्ने बताउनुभयो । मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न गाउँपालिकाका अध्यक्षहरूको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button