मुगुमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक सैनिकको मृत्यु
मुगु। मुगु जिल्लाको पिना गाउँस्थित आल्लाधुन नजिकैको घुम्तीमा सोमबार राती सेनाको बोलेरो जिप दुर्घटना हुँदा नेपाली सेनाका एक जवानको ज्यान गएको छ।
हनुमान ध्वज गुल्म हुटुबाट रारादेखि भुलभुलेसम्म सैनिक पुर्याएर फर्किने क्रममा बोलेरो जिप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार दुर्घटनामा परेर हनुमान ध्वज गुल्मका अमलदार तथा चालक हरिसिंह ऐडीको मृत्यु भएको हो।
बैतडी जिल्लाको पाटन नगरपालिका–४ बगाडी स्थायी ठेगाना भएका ऐडीलाई गम्भीर घाइते अवस्थामा मुगु अस्पताल पुर्याइएको थियो। अस्पतालले उनलाई सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रवि राज थपलियाले जानकारी दिनुभयो ।
ना १ झ १०३९ नम्बरको बोलेरो जिप रारा छायानाथ नगरपालिका–७ अन्तर्गत पिना प्रहरी चौकीभन्दा अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको हो। आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो।
प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार बोलेरो जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो। घाइते चालकलाई राति करिब १० बजे मुगु अस्पताल पुर्याइए पनि ज्यान बचाउन नसकिएको उहाँले बताउनुभयो । मृतक ऐडी लाई हेलिकोप्टर बाट बैतडी पठाउने तयारी भइरहेको पनि प्रजिअ चौंलागाईले जानकारी दिनुभयो ।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। तर सो घुम्तीमा बारम्बार दुर्घटना हुने गरेको स्थानीयवासीले बताएका छन्। मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्