तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सद्भाव खल्बल्याएको आरोपमा धनुषामा तीन जना पक्राउ

जनकपुरधाम। धनुषामा सामाजिक सञ्जालमार्फत समुदाय लक्षित गालीगलौज गर्ने र धार्मिक ग्रन्थ जलाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कमला नगरपालिका वडा न-६ बस्ने वर्ष १९ को हैदर अंसारी र वर्ष १९ को अमानत अंन्सारी तथा वर्ष २५ का कपिल भन्ने राम प्रताप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार टिकटक मार्फत अफवाह फैलाउने र विभिन्न किसिमको अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरेको भिडियो पोष्ट गर्ने कार्यमा संलग्न रहेका हैदर र अमानतलाई पक्राउ गरिएको हो ।

यसै गरि कमला-६ सखुवा टोल स्थित रहेको मस्जिदमा तोडफोड गरी मस्जिदमा रहेको कागजपत्रहरू निकाली धार्मिक ग्रन्थहरू समेत जलाएको आरोपमा साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

टिकटकमा भिडियो बनाई पोष्ट गरेको विषयलाई लिएर शनिबार मस्जिदमा तोडफोड तथा धार्मिक ग्रन्थहरू जलाइएको आरोपमा पक्राउ परेका साह विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धी कसुरमा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ । हैदर र अमानत विरुद्ध सोही दफा को १५६ बमोजिम धर्म सम्बन्धि कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बमले जानकारी दिनु भयो ।

प्रवक्ता बमले टिकटक, फेसबुक, ह्वाट्सअप लगायतको सामाजिक सञ्जालमा कसैले धार्मिक आस्था माथि खलल पुर्‍याउने खालका स्टाट्स, अडियो तथा भिडियो पोष्ट, लाईक, शेयर तथा कमेन्ट गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने पनि जानकारी दिनुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले आज सूचना जारी गर्दै सामाजिक सद्भाव बिगार्ने काम भएको खण्डमा कानून अनुसार कारबाही हुने बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button