तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्नेमा जोड दिनुभएको छ । 

१३औँ राष्ट्रिय पोसाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस–२०८२ को अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले राष्ट्रिय पहिचानको प्रवर्द्धन अभियानलाई सरकारको साथ रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “राष्ट्रियताको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ, राष्ट्रिय झण्डा भन्ने बित्तिकै यसप्रतिको श्रद्धा अगाध झल्किन्छ । राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झण्डा हो, जसले सबै नेपालीलाई जोड्न सक्छ । हामी जो जहाँ छौ, नेपाली हुनुको पहिचान जोगाउने कार्यमा सक्रिय भएर लागौँ ।”

मन्त्री खरेलले राष्ट्रिय पोसाकलाई सरकारी मान्यता दिने र उत्सवको रुपमा दिवस मनाउने सन्दर्भमा आफू अभियानको साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नवजवान युवाहरूले बिहे, व्रतबन्ध, भोज र औपचारिक कार्यक्रम तथा भव्य र सभ्य समारोहमा दौरा, सुरुवाल, कोट, टोपी, साडी, चोलो लगाएर कार्यक्रममा उपस्थित हुँदा राष्ट्रिय महत्व आफैमा बढेको छ । विश्वभर नेपालीको पहिचानको परिचय दिइरहँदा शिरमाथी लगाएको ढाका टोपी दौरा सुरुवाल हो । नेपाल र नेपाली चिनाउने राष्ट्रिय पोशाक नै हो, त्यसैले यसको संरक्षणमा सबै लाग्नुपर्छ ।”

प्रतिष्ठानका अध्यक्ष राजानन्द मण्डलले राष्ट्रिय झण्डा र राष्ट्रिय पोशाकको गरिमा र ओझ बढाउने कार्यमा सबै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button