तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा ग्यास बुलेट दुर्घटना : २५ घण्टापछि खुल्यो महेन्द्र राजमार्ग

रौतहट।रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डअन्तर्गत दोस्रो लच्का नजिक ग्यास बोकेको बुलेट ट्याङ्कर दुर्घटनामा परेपछि अवरुद्ध बनेको पूर्व–पश्चिम महेन्द्र राजमार्ग २५ घण्टापछि सञ्चालनमा आएको छ ।

मंगलबार बिहान करिब पौने ८ बजे पल्टिएको ग्यास बुलेट ट्याङ्कर बुधबार बिहान पौने ९ बजे सडकबाट हटाइएपछि राजमार्ग खुलाइएको हो । ट्याङ्कर पल्टिएसँगै ग्यास चुहावटको जोखिमका कारण राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापा मगरका अनुसार दुर्घटनापछि सुरक्षा निकाय, ट्राफिक प्रहरी र स्थानीय तहको प्रयास जारी रहे पनि ट्याङ्कर हटाउन समय लागेको थियो । अन्ततः छवटा किरण क्रेन प्रयोग गरी २१ टन क्षमताको ग्यास बुलेट ट्याङ्कर सडकबाट हटाइएको हो ।

भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ गइरहेको यूपी–१७ एपी–२११४ नम्बरको ग्यास बुलेट ट्रक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक भारतको मधुवनी जिल्ला जयनगर निवासी ३७ वर्षीय पवन यादव घाइते भएका थिए । उहाँको अवस्था सामान्य रहेको र सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचारपछि डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाल पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button