तपाईँ सुन्दै हुनुहुन्छः

योजना अधुरो छाड्ने प्रवृत्ति निरुत्साहित गर्न मुख्यमन्त्री कँडेलको निर्देशन 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको वार्षिक बजेटबाट सञ्चालन हुने विकास आयोजनाहरू अधुरो रहने गरी बजेट छुट्टाउने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिनुभएको छ । 

विगतमा एक वर्षे बजेटलाई बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर छाड्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै अब त्यसको अन्त्य गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजनाको छनोटदेखि कार्यान्वयनसम्म गम्भीरतापूर्वक सोच्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

विकास आयोजनाहरू प्रभावकारी बनाउन यथार्थपरक योजना निर्माण, स्पष्ट प्राथमिकता निर्धारण र समयमै कार्यान्वयन अपरिहार्य रहेको बताउँदै उहाँले योजना बनाउँदा स्थानीय आवश्यकता, कार्यान्वयन क्षमता र बजेटको आकारलाई ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सहभागी मन्त्री तथा सचिवहरूलाई मुख्यमन्त्री कँडेलले आ–आफ्नो मन्त्रालय अन्तर्गतका योजनाहरूको प्रगति नियमित रुपमा समीक्षा गर्न निर्देशन दिनुभयो । 

बैठकमा प्रदेश सरकारका सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button