प्रधानमन्त्री कार्कीद्वारा तमु ल्होसारको शुभकामना, शान्ति र लोकतान्त्रिक मार्गमा अघि बढ्न आह्वान
काठमाडौँ । तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्द्वारा टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवमा प्रधानमन्त्री सुशीला कार्कीले तमु गुरुङ समुदायसहित देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ।

तमु ल्होसारले मौलिक पहिचान संरक्षण गर्दै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना बलियो बनाउने बताउँदै प्रधानमन्त्री कार्कीले सांस्कृतिक विविधता नै नेपालको शक्ति भएको उल्लेख गर्नुभयो। उहाँले घोडा वर्गको नयाँ वर्षले शक्ति, साहस र कर्मठपनाको सन्देश दिने उल्लेख गर्दै यही ऊर्जालाई देशको समृद्धि यात्रामा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो।

प्रधानमन्त्री कार्कीले नेपाली समाजले चुनौतीपूर्ण अवस्थामा पनि संवाद र सहमतिमार्फत समाधान खोज्दै आएको बताउनुभयो। मतभेदका बाबजुद शान्तिपूर्ण र लोकतान्त्रिक बाटो रोज्नु नै नेपाली संस्कार भएको उहाँको भनाइ थियो।

उहाँले स्वच्छ र निष्पक्ष निर्वाचन लोकतान्त्रिक प्रणालीको मुख्य आधार भएको उल्लेख गर्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको तयारी अघि बढिरहेको जानकारी दिनुभयो। समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भइसकेको जनाउँदै यसलाई निर्वाचन प्रक्रियाको महत्वपूर्ण उपलब्धि भन्नुभयो।

सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले सबै राजनीतिक दल, नागरिक समाज र नागरिकको सक्रिय सहभागिताको आवश्यकता औँल्याउनुभयो।












प्रतिक्रिया राख्नुहोस्