बाजुरामा ८७ हजार बढी मतदाता, ७७ मतदानस्थल र १सय१८ मतदान केन्द्र कायम
बाजुरा ।आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरा जिल्लामा ८७ हजारभन्दा बढी मतदाता कायम भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार जिल्लामा कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार कुल मतदातामध्ये ४५ हजार ४ सय २८ पुरुष, ४२ हजार ४ सय ३१ महिला तथा २ जना अन्य मतदाता रहेका हुन्।
त्यसैगरी, जिल्लाभर ७७ वटा मतदानस्थल र १ सय १८ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका सूचना अधिकारी अंगत महतले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि कायम रहेका मतदानस्थल र केन्द्रको तुलनामा ७ वटा मतदानस्थल र ६ वटा मतदान केन्द्र थप गरिएको हो।
मतदाता सङ्ख्या र भौगोलिक अवस्थालाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदानस्थल तथा केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको थियो, जसलाई आयोगले स्वीकृत गरेको हो।
चार नगरपालिका र पाँच गाउँपालिका रहेको बाजुरामा यसअघि ७० वटा मतदानस्थल र १ सय १२ वटा मतदान केन्द्र रहेका थिए। थप मतदानस्थल र केन्द्र कायम भएसँगै मतदातालाई मतदान गर्न सहज हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया राख्नुहोस्