मधेसमा शीतलहर : सर्वसाधारणलाई घरबाट निस्किन मुस्किल
रौतहट । पुस महिनाको पहिलो सातादेखि नै सुरु भएको बाक्लो हुस्सु र शीतलहरका कारण रौतहटसहित मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ ।

अत्यधिक चिसो, कुहिरो र शीतलहरका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ भने यातायात र दैनिक गतिविधिमा समेत असर परेको हो ।
बिहानैबाट आकाश ढाकिने गरी लागेको बाक्लो हुस्सुका कारण दृश्यता अत्यन्तै कम हुँदा मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । चिसो बढेसँगै वृद्ध वृद्धा, बालबालिका तथा बिरामीहरू बढी प्रभावित भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको विभिन्न खण्डमा बाक्लो कुहिरोका कारण सवारी आवागमन समेत प्रभावित बनेको छ ।
शीतलहर र बाक्लो हुस्सुले विशेष गरी दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका निम्न आय वर्गका नागरिकको जीवन थप कठिन बनेको छ । चिसोका कारण काममा निस्कन नसक्दा उहाँहरूको आम्दानी प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।
चन्द्रपुर नगरपालिका–१० का स्थानीय बासिन्दा दिपेन्द्र साहले भन्नुभयो “चिसोका कारण मजदुरी गर्न जान निकै समस्या भएको छ, बिहानैबाट यति धेरै चिसो भयो काममा जान सकिँदैन, काम नगर्दा घर खर्च चलाउनै गाह्रो हुने भयो ।”
यता चिसोबाट जोगिन सर्वसाधारणलाई न्यानो लुगा लगाउन, आगो तथा ताप साधन सुरक्षित रूपमा प्रयोग गर्न र अनावश्यक रुपमा घरबाहिर ननिस्कन सरोकारवाला निकायहरूले आग्रह गर्नुभएको छ ।
तराइका जिल्लामा शुक्रबार केहीबेर घाम लागे पनि शनिबारदेखि निरन्तर बढेको जाडो र दिनभर परिरहेको शीतका कारण सर्वसाधारण अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्किन पाएका छैनन् ।
यता अत्यधिक रुपमा बढेको चिसोको प्रत्यक्ष असर सर्वसाधारणको स्वास्थ्यमा देखिन थालेपछि स्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । जाडोका कारण उत्पन्न हुने विभिन्न मौसमी रोगका बिरामीको सङ्ख्या अहिले सरकारी तथा निजी स्वास्थ्य संस्थामा दिनदिनै बढ्दै गएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।
स्वास्थ्य संस्थाहरूका अनुसार पछिल्ला दिनमा रुघाखोकी, ज्वरो, फ्लु, दम, निमोनिया, नाक–कान–घाँटीसम्बन्धी समस्या, श्वासप्रश्वास सम्बन्धी रोग तथा उच्च रक्तचापका बिरामीहरू उल्लेख्य रुपमा बढेका छन् । विशेष गरी बालबालिका, वृद्ध/वृद्धा र दीर्घरोगीहरु जाडोका कारण बढी प्रभावित भएको देखिएको चन्द्रनिगाहपुर सरकारी अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्