प्रधानमन्त्री–दलबीचको संवाद: बन्दै छ निर्वाचनको वातावरण
काठमाडौँ। सरकार र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबिचको संवादहीनताको अन्त्य भएसँगै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बन्दै गएको छ ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफल बनाउन सरकारले राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएपछि निर्वाचनप्रतिको संशय बिस्तारै हट्दै गएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पुष ८ गते प्रधानमन्त्री सुशीला कार्की समेतलाई सहभागी गराई नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुखहरूसँग छलफलको वातावरण बनाएर सरकार र शीर्ष नेताहरूबिचको संवादहीनताको अन्त्य गराएपछि सरकार र दलहरूबिच घनिभूत छलफलको सुरुवात भएको छ ।

सरकारको राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेपछि पुष १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित नेताहरूबिच छलफल भएपछि मुलुक अब निर्वाचनमा होमिने निश्चित देखिएको विश्लेषकहरूको भनाई छ ।
लेखक एवं विश्लेषक झलक सुवेदी निर्वाचनको वातावरण बन्दै गएको र पुरानो प्रतिनिधि सभामा रहेका राजनीतिक दलहरुबीचको दुरीहरू पनि हट्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार “राष्ट्रपति पौडेलको संयोजनमा भएको वार्ता र प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीको पहलमा नेपाली काँग्रेस नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूबिच भएको संवादले निर्वाचन हुँदैन कि भन्ने आशङ्का हटाउँदै लगेको र चुनाव हुने वातावरण बन्दै गएको छ । ”
सरकारसँगको वार्तामा दलहरूले निर्वाचन सुरक्षाको विषय प्रमुख रूपमा उठाउँदै आइरहेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको रिट दायर गरे पनि सुरक्षाको प्रश्न उठाउँदै निर्वाचनको भित्री तयारी गरिरहेको उनीहरूले निर्वाचन आयोगमा बुझाउन लागेको समानुपातिक तर्फका उम्मेदवारको बन्द सूचीबाटै पनि प्रस्ट हुन्छ ।
सुरक्षाको प्रश्न महत्त्वपूर्ण भए पनि २०५४ सालमा द्दन्द्वकालमा एउटा पार्टी चुनावमा जाने र एउटा पक्ष चुनावमा नजाने भनेर सशस्त्र हतियार सहित हिनेको अवस्थामा समेत निर्वाचन भएको अनुभव सुनाउनुहुँदै लेखक एवं विश्लेषक झलक सुबेदीले अहिले जेन–जीहरुलेसमेत निर्वाचनका लागि दलहरूले स्वतन्त्र रूपमा मत माग्ने अवस्था हुनुपर्छ भनेर बुझिसकेको अवस्थामा निर्वाचनमा जाने विषयमा त्यस्तो समस्या छ जस्तो आफूलाई नलाग्ने बताउनुहुन्छ ।
सरकारले राजनीतिक दलहरूसँग वार्ता र छलफल गरी निर्वाचनको वातावरण बनाउन गठन गरेको तीन सदस्यीय वार्ता समितिले पनि राजनीतिक दलहरूसँगको भेटघाटलाई तीव्रता दिँदै आएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा संयोजक र सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्री कार्कीका राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको समितिले राजनीतिक दलका पार्टी कार्यालय र शीर्ष नेताहरूको घरघर पुगेर नै वार्ता तथा छलफल गरिरहेको छ । निर्वाचनको माहोल बनाउन राजनीतिक वार्ता र संवादलाई तीव्रता दिएर सरकार र समिति अगाडी बढिरहेको र सरकारले निर्वाचनमा सुरक्षाको प्रबन्ध मिलाएको वार्ता तथा संवाद समितिका सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बताउनुभयाे।
विभिन्न राजनीतिक दलहरूसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल र वार्ता गरिएको जानकारी दिनुहुँदै सञ्चार मन्त्री खरेलले तोकिएकै मितिमा निर्वाचन गर्ने सरकारको प्रतिबद्धताअनुसार निर्वाचन आयोग, सुरक्षा निकाय, जेन–जी समूह, युवा समूहलगायतसँगको छलफललाई निरन्तरता दिइरहेको बताउनुभएको छ।
पछिल्लो समय निर्वाचनका लागि सरकारले गरिरहेको प्रयास र निर्वाचन गराउन भइरहेको पहलले निर्वाचनको वातावरण बन्दै गएको र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार लागिरहेकाले केही समय अघिसम्म निर्वाचन हुनेमा रहेको आशङ्का अब हटेको छ र बिस्तारै निर्वाचनको माहोल बन्दै जाने देखिन्छ ।







प्रतिक्रिया राख्नुहोस्