काँग्रेसद्वारा समानुपातिक तर्फका उम्मेदवार चयन प्रक्रिया सुरु
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले प्रतिनिधि सभा सदस्यका लागि पार्टीको समानुपातिक तर्फका १ सय १० उम्मेदवार चयनको मापदण्ड तयार गरी उम्मेदवार चयन प्रक्रिया सुरु गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका परिमार्जन लगायतका विषयमा पनि छलफल भएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले वर्तमान विकसित राजनीतिक अवस्थामा विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उमेद्वारका विरुद्ध उम्मेदवार भएका व्यक्ति तथा उनीहरूका प्रस्तावक र समर्थक माथि गरिएको कारवाहीको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको छ ।
यसरी कारबाही माफी मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने पनि बैठकले निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
यस्तै बैठकले विभिन्न पेशा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक आस्था र विचार भएका व्यक्तिहरूलाई पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक भोली पुस १३ गते आइतबार बिहान ११ बजे पुन बस्ने पार्टीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्