तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिकतर्फका उम्मेदवारकाे बन्द सूची पेस गर्न राजनीतिक दलहरूलाई आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । 

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै यही पुस १३ र १४ गते अपराह्न ४ः०० बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्द सूची पेस गर्न अनुरोध गरेको हो । 

उम्मेदवारको बन्द सूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेस गर्नुपर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button