अर्घाखाँचीमा जीप दुर्घटना: एकको मृत्यु, १४ जना घाइते
अर्घाखाँची। अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भुमिकास्थान नगरपालिका वडा नम्बर-७ को छिर्लिंग खोला नजिकै दुर्घटना हुँदा चालक भूमिकास्थान– १० धनचौर निवासी ४५ वर्षीय रुद्रबहादुर बुढा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
धनचौरबाट नुवाकोट जाँदै गरेको लु २ च ५१७९ नम्बरको जिप भुमिकास्थान नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिंग शील्ड प्रतियोगितामा भाग लिन विद्यार्थी लिएर जाँदै गर्दा दुर्घटना भएको हो ।
दुर्घटनामा परि जन जागृति मावि धनचौरमा अध्ययनरत विद्यार्थी तथा शिक्षक घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिनुभयो । घाइते मध्ये ३ जनालाई बुटवल रिफर गरिएको छ भने ११ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल अर्घाखाँचीका सूचना अधिकारी निम रानाले जानकारी दिनुभयो ।
जिप सडकदेखि करिब ६० मिटर तल खसेको हो । घुम्ती परेको साँघुरो कच्ची सडक भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्