“लोपोन्मुख काठका भाँडा”
'काठ कुँद्दै बितेको जीवन, हराउँदै गएको बजार'
बाजुरा। कुनै समय बाजुरा सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा दैनिक जीवनमा अत्यधिक प्रयोग हुने काठका भाँडा हाल गाउँघरमै पाउन मुस्किल बनेका छन्।

आधुनिक प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढेसँगै काठका भाँडा बनाउने परम्परागत पेशानै सङ्कटमा परेको छ।
चदारा समुदायले पुस्तौँदेखि गर्दै आएको काठका भाँडा बनाउने ‘भाँडी’ पेशा अहिले अस्तित्व जोगाउन सङ्घर्षरत अवस्थामा पुगेको छ। मेहनत अनुसारको मूल्य नपाइनु, बजारको अभाव र सरकारी संरक्षण नहुँदा यो पेशाबाट गुजारा चलाउनै नसकिने अवस्था आएको काठका भाँडा बनाउने व्यवसायीहरूको दुखेसो छ।

बडिमालिका नगरपालिका–५ का काठका भाँडा बनाउने व्यवसायी कृष्ण चदाराका अनुसार यो पेशाबाट परिवार पाल्नै मुस्किल भइसकेको छ। “पहिले गाउँमा काठका भाँडाको निकै माग हुन्थ्यो, अहिले त बनाएका भाँडा बेच्नै सकिँदैन,” उहाँले भन्नुभयो।
पहिले काठबाट ठेकी, कचौरा, तुरी लगायतका सामग्री निर्माण गरिन्थ्यो। गाउँघरमा यी भाँडाको प्रयोग व्यापक थियो। त्यति बेला नगदभन्दा पनि अन्न लिने ‘बालिघरे प्रथा’ अन्तर्गत काठका भाँडा बनाएबापत धान, गहुँ लगायत अन्न प्राप्त हुन्थ्यो। अहिले भने त्यो अवस्था नरहेको व्यावसायिको गुनासो छ।
परम्पराले थामेको जीवन, बजारले छाडेको साथ
आधुनिकता सँगै बजारमा प्लास्टिक, स्टिल र एलुमिनियमका भाँडाको प्रवेश भएपछि काठका भाँडा ओझेलमा परेका छन्। सस्तो, हलुका र सजिलै पाइने आधुनिक सामग्रीले परम्परागत काठका भाँडालाई विस्थापित गरेको हो।
स्थानीयस्तरमा यो पेशाको संरक्षणका लागि कुनै ठोस कार्यक्रम नभए चदारा समुदायको परम्परागत पेशा इतिहासमै सीमित हुने खतरा बढ्दै गएको छ।






प्रतिक्रिया राख्नुहोस्