तपाईँ सुन्दै हुनुहुन्छः

चिसोका कारण रौतहटको जनजीवन प्रभावित, सार्वजनिक स्थानमा दाउरा वितरण

रौतहट। रौतहटसहित मधेस प्रदेशका जिल्लामा जाडो बढ्दै गएपछि जनजीवन प्रभावित बनेको छ ।

बाक्लो हुस्सु र शीतलहरका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले सार्वजनिक स्थानमा दाउरा वितरण सुरु गरेको छ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त कुमार साहका अनुसार विपत् व्यवस्थापन समितिको निर्णय अनुसार चन्द्रपुर नगरपालिकाभित्र सर्वसाधारणको बढी आवतजावत हुने स्थान, चोक–चौतारा तथा सार्वजनिक स्थलमा दाउरा वितरण गरिएको हो। चिसोबाट प्रत्यक्ष प्रभावित सर्वसाधारणलाई राहत दिने उद्देश्यले यो पहल गरिएको उहाँले जानकारी दिनुभयो ।

“जाडोको कारण सर्वसाधारणलाई समस्या भएपछि राहत स्वरूप सार्वजनिक स्थानमा आगो ताप्न सकिने गरी दाउरा उपलब्ध गराइएको हो,” प्रमुख साहले भन्नुभयो, “विशेष गरी बिहान र साँझको समयमा वृद्ध वृद्धा, मजदुर तथा सर्वसाधारणलाई यसले सहजता मिल्ने अपेक्षा गरेका छौँ ।”

दाउरा वितरणले चिसोबाट केही राहत मिलेको स्थानीय वासीहरूले प्रतिक्रिया दिनुभएकाे छ । पछिल्ला दिनहरूमा तापक्रम निरन्तर घट्दै गएपछि मधेसका विभिन्न जिल्लामा जनस्वास्थ्य र दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको छ ।

सम्बन्धित निकायहरूले चिसो अझै केही दिन कायम रहने पूर्वानुमान रहेकाले आवश्यक सतर्कता अपनाउन र विपन्न तथा जोखिममा रहेका समुदायका लागि थप राहत कार्यक्रम विस्तार गर्नुपर्ने स्थानीयको माग छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button