पर्सा र बारा सहित मध्य तराईका जिल्लामा शीतलहरका कारण जनजीवन प्रभावित
'चिसो अत्यधिक बढेपछि अधिकांश पालिकाद्वारा विद्यालय बन्द'
वीरगञ्ज। पर्सा बारा सहित मध्यतराईका जिल्लाहरूमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ ।

चिसो अत्यधिक बढेपछि केही पालिकाहरूले विद्यालय बन्द गरेका छन् भने नियमित कामकाजमा समेत असर परेको छ ।
बाक्लो हुस्सु सँगैको शीतलहरले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । पर्सा बारामा पुस १ गतेदेखि नै शीतलहर सुरु भएको हो । दिउँसो समेत कुहिरो नहटेपछि बालबालिका, ज्येष्ठ नागरिक र दैनिक ज्याला मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।
चिसो अत्यधिक बढ्दै गएपछि पर्सा जिल्लाका विभिन्न पालिकाहरूले विद्यालयहरूमा बिदा दिन थालेका छन् । पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहाँमैनपुर र छिपहरमाई गाउँपालिकाले आगामी पुस १३ गते सम्म विद्यालयहरूमा बिदा दिएका छन् ।

हुस्सु लाग्नुका साथै चिसो हावा पनि चल्न थालेपछि खासगरी वृद्ध वृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ ।
मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कंडेलले मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जानकारी दिनुभयो । कार्यालयका अनुसार वीरगञ्जमा आज बिहान को तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्