उपत्यकाका बारले भव्यताका साथ मनाए ७० औँ बार दिवस

काठमाडौँ । उपत्यकामा रहेका बारहरुको आयोजनामा बार दिवस (बार डे) भव्यताका साथ मनाइएको छ ।
उपत्यकामा रहेका बारहरू काठमाडौँ जिल्ला अदालत बार, ललितपुर जिल्ला अदालत बार, भक्तपुर जिल्ला अदालत बार, पाटन उच्च अदालत बार र काभ्रे जिल्ला अदालत बारको संयुक्त आयोजनामा ललितपुरको महालक्ष्मीस्थानस्थित डिलाइट पार्टी प्यालेसमा ललितपुर बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता राम श्रेष्ठको अध्यक्षता र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको प्रमुख आतिथ्यतामा बार दिवस मनाइएको हो । कार्यक्रमको व्यवस्थापन तथा आतिथ्यता ललितपुर बारले गरेको थियो
कार्यक्रमका प्रमुख अतिथि राउतले अहिलेको न्याय प्रणालीमा एआईको प्रयोग बढ्दै गएको र त्यसले न्याय सम्पादनमा अवसर प्रदान गर्नुका साथै ठुलो चुनौतीको पनि सामना गर्नु परिरहेको बताउनुभयो । उहाँले जेन्जी आन्दोलनका कारण अदालतमा आगजनी हुँदा न्याय सम्पादनमा ठुलो असर परेको र अहिले कानुन व्यवसायी, सरकारी वकिल र सेवाग्राहीको सहयोगका कारण अदालत लयमा फर्किएको बताउनुभयो, साथै सहयोगका लागि कानुन व्यवसायीलगायत सबैलाई धन्यवाद दिनुभयो ।

नेपाल बारको स्थापना भएको ७० वर्ष पुगेको अवसरमा ७० औँ बार दिवस मनाइएको हो । नेपाल बार र अन्य इकाईहरूले आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउने गर्दछन् ।
कार्यक्रममा बार दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरूको आयोजनासमेत गरिएको थियो । विजेता खेलाडीहरूलाई प्रधानन्यायाधीश राउतले प्रमाणपत्र, मेडल र शिल्डसहित सम्मान गर्नुभएको थियो । साथै कानुन व्यवसायीहरूले सांस्कृतिक कार्यक्रमहरूसमेत देखाएका थिए ।
कार्यक्रम समापनपश्चात् अतिथि तथा सहभागीहरूको लागि नेवारी भोजको व्यवस्था गरिएको थियो ।
कार्यक्रममा प्रधानन्यायाधीश राउत, महान्यायाधिवक्ता सबिता भण्डारी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी, नेपाल बारका अध्यक्ष विजय प्रसाद मिश्र, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, जिल्ला अदालतका न्यायाधीशहरूलगायत करिब हजारभन्दा बढी वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया राख्नुहोस्