मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण
जनकपुरधाम। मधेस प्रदेश नवनिर्वाचित सभामुख रामआशिष यादवले आज पदभार ग्रहण गर्नु भएको छ ।

प्रदेश सभा सचिवालयमा पुगेर सभामुख यादवले पदभार ग्रहण गर्नु भएको हो । सभामुख यादवले पदभार ग्रहण गर्नुहुँदै मधेस प्रदेश सभामा रहेका सबै संसदीय समितिहरूलाई सक्रिय बनाउने निर्णय गर्नुभएको छ । साथै रणनीतिक योजना बनाएर प्रदेश सभा मार्फत सरकारलाई सक्रिय बनाउने पक्षमा आफू रहेको उहाँले बताउनुभयो ।
उहाँले मधेस प्रदेश सभा सङ्घीयताको पहिचानको आधारमा स्थापित भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुका साथै व्यवस्थापिका मार्फत कार्यपालिकालाई अझ बढी जनउत्तरदायी बनाउँदै सक्रिय बनाउने तर्फ आफू क्रियाशील रहने बताउनुभयो ।
एक प्रश्नको जवाफमा सभामुख यादवले मधेस प्रदेशको कामकाजको भाषा सम्बन्धी विधेयक सरकारले ल्याउने र त्यसका लागि आफूले सहकार्य तथा समन्वय गरेर निर्णय गर्नमा सहयोग गर्ने बताउनुभयो । उहाँले विगतमा सचिवालयमा देखिएको विकृति जस्तो आफ्नो कार्यकालमा नहुने समेत बताउनुभयो ।
सभामुखको पद बहाली कार्यक्रममा उपसभामुख बबिता राउत ईशर, प्रदेश सभा सचिवालयका सचिव बाशुप्रसाद कोइराला सहित विभिन्न दलका प्रदेश सभा सदस्यहरू र अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्