मधेसमा शीतलहरको कहर: गुन्द्री ओढेर रात बिताउँछन् सर्वसाधारण
रौतहट। मधेस प्रदेशमा जारी शीतलहरले जनजीवन कष्टकर बन्दै गएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–९ चेतनगरस्थित मुसहर बस्तीका बासिन्दा चर्को जाडोको प्रत्यक्ष मारमा परेका छन्।
पछिल्लो चार दिनदेखि कठोर बनेको शीतलहर गरिब समुदायका लागि रात काट्नु नै सङ्घर्षको विषय बनेको छ । बढ्दो शीतलहरसँगै यहाँका बासिन्दाहरूको दैनिकी झनै पीडादायी बन्दै गएको छ ।
दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका चन्द्र माझीले जाडोका कारण काममा जान नसक्दा हातमुख जोड्नसमेत कठिन भएको बताउनुभयो । “काम नपाएपछि भोकै बस्नुपर्ने अवस्था आउँछ,” उहाँले भन्नुभयो ।
सोही बस्तीकी ६० बर्सिया देवरतिया देवीको अवस्था अझै दर्दनाक छ । सानो फुसको घरमा बस्दै आउनुभएकी उहाँसँग न ओढ्ने छ, न ओछ्याउने ।
परालको चटाई ओछ्याएर र त्यसैलाई ओढेर रात बिताउन बाध्य उहाँ भन्नुहुन्छ, “जाडो छल्ने कुनै उपाय छैन, जिउ काँपेरै रात काट्छु ।”
६५ बर्सिया भुटनी देवी माझीको पीडा पनि उस्तै छ। जाडो सुरु भएदेखि नै परालले बुनेको गुन्द्री ओढेरै रात बिताउँदै आउनुभएको छ । चिसोले शरीर कठोर बन्दै जाँदा जीवन नै असुरक्षित भएको उहाँको गुनासो छ ।
प्रत्येक वर्ष शीतलहरी र हुस्सुले रौतहटका गरिब, दलित तथा विपन्न बस्तीलाई थिच्दै आए पनि यस वर्ष पनि स्थानीय तह र प्रदेश सरकारको ध्यान यहाँसम्म पुग्न सकेको छैन ।
दैनिक ज्याला मजदुरको भोक र चिसोको सङ्घर्ष

चिसोको कारण सो बस्तीका कयौँ स्थानीयहरू आगो तापेरै रात गुजार्नुपर्ने बाध्यतामा छन् । न्यानो कपडा, कम्बल र राहत सामग्री नपुग्दा जाडो यहाँ जीवनका लागि खतरा बन्दै गएको स्थानीयवासीहरू बताउँछन् ।

जाडो अझै बढ्ने सम्भावना रहेकाले चेतनगरको मुसहर बस्तीका बासिन्दाहरूले प्रभावित समुदायका लागि तत्काल न्यानो कपडा, कम्बल तथा अन्य राहत सामग्री वितरण गर्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।
समयमै ध्यान नदिइए, यो जाडोले गरिब बस्तीमा अझ ठुलो मानवीय सङ्कट निम्त्याउने खतरा देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्