जनकपुरधाममा तीन स्रष्टा सम्मानित
जनकपुरधाम । मैथिली भाषा साहित्य, कला, खेलकुद, संस्कृति तथा सामाजिक क्षेत्रमा क्रियाशील श्रीरामानन्द युवा क्लबले आफ्नो ४० औँ वार्षिकोत्सवको अवसरमा तीन जना स्रष्टाहरूलाई आज सम्मानित गरेको छ ।

मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले ती तीन जना विभिन्न क्षेत्रका स्रष्टाहरूलाई दोसल्ला ओढाएर कदर पत्र तथा नगद सहित सम्मानित गर्नुभएको हो । यसरी सम्मानित हुनेहरूमा विद्यापति स्मृति पुरस्कारबाट युवा साहित्यकार नित्यानन्द मण्डल रहनुभएको छ भने सरस्वती राजनारायण कला पुरस्कारबाट वरिष्ठ तबला तथा नाल वादक मिथिलेश झा र चन्द्रकला वशिष्ठ मेमोरियल पुरस्कारबाट क्रिकेट खेलका वरिष्ठ प्रशिक्षक नवीन सिंह रहनुभएको छ ।
प्रत्येक वर्ष क्लबले आफ्नो स्थापना दिवसको अवसर पारेर तीनै पुरस्कार दिँदै आएको छ भने यस पुरस्कारमा सम्मानपत्र सहित नगद २१ हजार रहेको रामानन्द युवा क्लबका महासचिव रोशन कुमार मिश्रले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सामाजिक, सांस्कृतिक, साहित्यिक, खेलकुद सहितका क्षेत्रमा रामानन्द युवा क्लबले पुर्याएको योगदानको सराहना गर्दै भविष्यमा अझै राम्रा काम गर्नका लागि शुभकामना दिनुभयो ।
मधेश प्रदेश सभाका निवर्तमान सदस्य परमेश्वर साहले युवाहरूले सामाजिक आर्थिक परिवर्तनको अभियानसँगै राजनीतिमा गहिरो चासो निरन्तर रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
रामानन्द युवा क्लबका अध्यक्ष आशुतोष झाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अनिल मिश्र, पूर्व अध्यक्ष एवं मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, क्लबका संस्थापक सदस्य प्रमोद चौधरी, जानकी बस सेवा प्राइभेट लिमिटेडका अध्यक्ष मनोज चौधरी, साहित्यकार एवं पत्रकार श्याम सुन्दर शशी सहितका वक्ताहरूले बोल्नुभएको थियो ।
सो कार्यक्रममा प्रदेश प्रमुख डा. कर्णले क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका रक्तदाताहरूलाई प्रमाणपत्र एकमुष्ट रुपमा प्रदान गर्नुभएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह पनि सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्