तपाईँ सुन्दै हुनुहुन्छः

जब्दीघाटमा पुल छिट्टै बन्छ : मन्त्री घिसिङ

बर्दिया । ऊर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताउनुभयो । 

उहाँले आफु मन्त्री हुनासाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताउनुभयो  । अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा  क्याबिनेटले कार्यविधि पास गरिसकेको बताउनुभयो । उहाँले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताउनुभयो । 

मन्त्री समक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरेपनि बजेट विनियोजन गरेपनि कार्यान्वयन हुन नसकेको बताउनु भयो । 

सरकारले अघिल्लो आर्थिक बर्ष देखि बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ११ करोड रकम विनियोजन गरेको छ । पुलको लागत एक अर्ब १ करोड  २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । 

पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि  स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पुल लगाएतका विभिन्न स्थानको अनुगमन गर्नु भएको थियो । त्यसैगरी बर्दियाका दौलतपुर र कैलालीको टिकापुर जोड्ने झोलुङ्गे पुल शिलान्यास गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button