रेडपान्डा म्याराथनमा पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राई विजेता
इलाम । ४४.२ किलोमिटर दूरीको इलाम बजार–सन्दकपुर रेडपान्डा म्याराथन (पुरुषतर्फ) मा गजेन्द्र राई पहिलो भएका छन् । उनले ४ घन्टा १२ मिनेटमा निर्धारित दूरी पार गर्दै उपाधि जितेका हुन् । विजेतासँगै गजेन्द्रले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

करण रावलले ४ घन्टा १३ मिनेटमा दूरी पार गरी दोस्रो स्थान हासिल गरे भने ४ घन्टा १९ मिनेटमा दूरी पूरा गरेका कर्णवीर रोका तेस्रो भए ।
स्थानीय (इलाम, पाँचथर र ताप्लेजुङ) पुरुषतर्फ पाँचथरका राजन मेन्याङ्बो प्रथम भए । उनले ४ घन्टा ३९ मिनेट १० सेकेन्डमा दूरी पार गरी २५ हजार रुपैयाँ जिते । पाँचथरकै विशाल राई दोस्रो हुँदै २० हजार रुपैयाँ पाए भने इलामका राजेन्द्र लिम्बू ४ घन्टा ४९ मिनेट १८ सेकेन्डमा दूरी पार गरी तेस्रो बन्दै १० हजार रुपैयाँ पुरस्कार पाए । ताप्लेजुङका रमेश लिम्बू चौथो भए । उनले ५ घन्टा ३ मिनेट ५७ सेकेन्डमा दूरी पार गरी ५ हजार रुपैयाँ हात पारे ।
म्याराथन मङ्गलवार बिहान साढे ७ बजे इलाम बजारबाट सुरु भई सन्दकपुर डाँडामा सम्पन्न भएको थियो । समुद्री सतहबाट १२२० मिटरदेखि ३,६१० मिटर उचाइसम्मको चुनौतीपूर्ण भू–भागमा आयोजना गरिएको म्याराथन विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डा तथा जैविक विविधता संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले दीपज्योति युवा क्लबले आयोजना गरेको हो ।
म्याराथनमा नेपाल र भारतका गरी ६२ पुरुष र ११ महिला धावक सहभागी थिए ।म्याराथन आज बिहान करिब साढे ७ बजे इलाम बजारबाट सुरु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्