पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता पुष ४ गतेदेखि
पोखरा । पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता २०८२ पुष ४ गते देखि हुने भएको छ । कास्की जिल्ला गल्फ सङ्घको आयोजनामा आगामी पुष ५ गतेसम्म विश्वकै उत्कृष्ट गल्फ कोर्समध्ये एक मानिने पोखरा–१४ मझेरीपाटनस्थित (पार–६९) को हिमालयन गल्फ कोर्समा उक्त प्रतियोगिता आयोजना हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा देश तथा विदेशबाट २५ टिमसहित करिब ७० देखि ८० जना एमेच्योर गल्फरको सहभागिता रहने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले बताउनुभयो । प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, महोत्तरीका साथै युके, अमेरिका र सिङ्घापुरबाट समेत गल्फरहरू सहभागी हुने भएको उहाँले जनाउनुभयो । पोखराबाट ४ जना महिला सहित २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता स्ट्रोक प्ले, स्टेबल फोर्ड तथा ३ र ४ ह्यान्डिक्याप फर्म्याटमा सञ्चालन हुनेछ । पुरुष टिम इभेन्टतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । महिला खुल्लातर्फ पहिलो र दोस्रो हुनेले क्रमशः नगद १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् भने सिनियरतर्फ विजेतालाई १० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । यसैगरी नेटतर्फ पहिलो, दोस्रो र तेस्रो हुने गल्फरले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद प्राप्त गर्ने उपाध्यक्ष भक्तराज गुरुङले जानकारी दिनुभयो ।
ग्रसतर्फ पहिलो र दोस्रो हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद प्रदान गरिनेछ । साथै क्लोजेष्ट टु दि पिन, लङ्गेष्ट ड्राइभ तथा सर्वाधिक बर्डी (हाइएस्ट बर्डी) हिर्काउने गल्फरलाई समान ५–५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सङ्घले जनाएको छ । प्रतियोगिताको कुल खर्च करिब ८ लाख रुपैयाँ हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचत हुने रकम पोखरा रङ्गशालाभित्र निर्माणाधीन गल्फ एकेडेमी निर्माणमा खर्च गरिने सङ्घले जनाएको छ । हालसम्म एकेडेमी निर्माणका लागि १८ लाख रुपैयाँ खर्च भइसकेको र खेल्ने लायक बनाउन अझै केही समय लाग्ने जानकारी पनि दिइयो ।
प्रतियोगिता सफल बनाउन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ तथा हिमालयन गल्फ क्लब पोखराको सहकार्य र सहयोग रहेको कास्की जिल्ला गल्फ सङ्घले जनाएको छ । पत्रकार सम्मेलनमा कास्की जिल्ला गल्फ संघका कोषाध्यक्ष क्या.लालबहादुर गुरुङ, हिमालयन गल्फ कोर्सका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन) लगायतले गल्फ खेलको विकासमा राज्यको खासै ध्यान नपुगेको गुनासो गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्