धनुषामा रहेका मतदान केन्द्रहरूको स्थलगत अनुगमन जारी
जनकपुरधाम । अगामी फाल्गुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनुषामा रहेका विभिन्न मतदान केन्द्रहरूको स्थलगत अनुगमन गर्ने काम भइरहेको छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा सहज तरिकाले सम्पन्न गर्नका लागि मतदान केन्द्रहरूको भौतिक अवस्था, मतदाताका लागि आवश्यक रहेको पूर्वाधार तथा सुरक्षाका दृष्टिकोणले आवश्यक भएका अन्य विषयहरूको बारेमा स्थलगत रूपमा अनुगमन गर्ने काम भइरहेको मधेस निर्वाचन कार्यालय जनकपुरधामका कम्प्युटर अधिकृत कृष्ण राउतले जानकारी दिनुभयाे।
धनुषा जिल्लामा रहेका विभिन्न मतदान केन्द्रहरूको स्थलको अनुगमन गर्ने काम हुनुका साथै भएका कमी कमजोरीका विषयमा जानकारी लिने र समाधान गर्न सके तत्काल समाधानका लागि प्रयास गर्ने उहाँले जानकारी दिनु भयो । धनुषाका १८ पालिकामा रहेका सबै मतदान केन्द्रहरूको अनुगमन गर्ने काम भइरहेको छ ।
धनुषा जिल्लामा ३ सय २२ मतदान स्थलमा ६ सय ५ मतदान केन्द्र रहेको कार्यालयका शाखा अधिकृत प्रवेश दुलालले जानकारी दिनु भएको हो । सबै मतदान स्थलको स्थलगत अनुगमपछि प्रतिवेदन तयार गरिने कार्यक्रम रहेको छ ।
मतदान स्थलको विषयमा कुनै समस्या भएको भए ती विषयमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिने र त्यस विषयमा आवश्यक छलफल हुने निर्वाचन कार्यालयले जनाएको छ । मतदान केन्द्रहरूको अनुगमनको क्रममा केही मतदान केन्द्रमा कम्पाउन्ड वालको अभाव हुनुका साथै अन्य प्रकारका समस्याहरू देखिएको छ ।
यसै गरी मतदाता नामावलीमा नाम समावेश भएकाहरूको त्रुटि वा सच्याउनु पर्ने अन्य विषयहरूमा आयोगले संशोधनको काम गरिरहेको छ । आयोगको कार्यालयहरूमा संशोधनको काम जारी रहेको छ । निर्वाचन मतदाता नामावलीको अद्यावधिक गर्ने काम मंसिर २७ गतेसम्म हुने पनि निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्