तपाईँ सुन्दै हुनुहुन्छः

दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षमा ६५ प्रतिशत मात्रै

ढोरपाटन । दक्षिण बागलुङको ‘लाइफ लाइन’ का रूपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक छ वर्षमा ६५ प्रतिशत मात्रै काम सकिएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक कालोपत्रेको कामले गति लिन नसकेको हो । समयमै कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

निर्माण व्यवसायीले सरसर्ति काम गरेको भए चार वर्ष अगाडि नै कालोपत्रे भइसक्थ्यो । विसं २०७६ असोजमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सडकको छ वर्षमा आधा मात्रै काम भएको हो । समयसमयमा ठेकेदार सम्पर्कविहीन हुँदा सडक अलपत्र पर्दै आएको थियो । अहिले लामो समयपछि काम गर्न थालेको छ । कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ ।

सडकको धुलोका कारण बारीका तरकारी, फलफूल र घाँस सबै ढाकिने गरेको स्थानीय कसलचन्द्र पाध्यायले गुनासो गर्नुभयो । “यो सडक खुलेको धेरै वर्ष बित्यो तर अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन, बर्खा भरी हिलो बगेर बारीका अन्नबाली बसै पुरिन्छ, हिउँदमा धुलो घरभित्रै पस्छ, बसाइँसराइ गरेर कता जानु ?, नजाउँ धुलो र हिलोले हैरान बनायो”, उहाँले भन्नुभयो, यहाँभन्दा माथिको सडक कालोपत्रे भयो, कुश्मिसेरासम्म पक्की नै छ, सडक कालोपत्रेको जिम्मा पाएर काम नगर्नेलाई कारबाही गर्नु प¥यो ।” जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वर्षौँदेखि सडक स्तरोन्नति नहुँदा बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकासहित गुल्मीका हजारौँ नागरिकले सास्ती खेप्नुपरेको बताउनुभयो ।

काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार आग्रह गर्दै आएको भन्दै अहिले तीव्र गतिमा काम गर्ने छनक देखाएको शर्मा बताउनुहुन्छ । बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्न यो प्रमुख सडक हो । रु २४ करोड ५८ लाखमा २०७८ सालमा सक्ने गरी पूर्वाधार विकास कार्यालय बागलुङमार्फत शर्मा क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो । समयमै काम नसकेपछि अहिलेसम्म पाँच पटक म्याद थप गरेको पूर्वधार विकास कार्यालयका इञ्जिनीयर प्रकाश श्रीसले जानकारी दिनुभयो ।

चैत अगाडि पाँच किलोमिटर र त्यस पछाडि बाँकी सडक कालोपत्रे गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । इञ्जिनीयर श्रीसले भन्नुभयो, “यहाँको १० किलोमिटर सडकलाई अब दुई खण्डमा काम गर्ने गरी निर्माण कम्पनी अगाडि बढेको छ, अहिले चिसो बढेको हुँदा रुम्टाखोलासम्म अब तत्कालै कालोपत्रे गर्ने र त्यसभन्दा माथि चैत पछाडि गर्ने भनिएको छ, निर्माण कम्पनीले सडक फराकिलो बनाउनेसँगै कालोपत्रेका लागि बेस ओसार्ने काम गरी रहेको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button