जेनजी आन्दोलनमा इप्रका बिर्तामोडमा आक्रमण गर्ने ८ जना जेल चलान
झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड र आगजनी गर्ने ८ जना जेल चलान भएका छन् ।
चार जनालाई पुर्पक्षका लागि र चारजनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो । आपराधिक उपद्रव, थुनुवा भागे भगाएको र हातहतियार मुद्दामा आज झापा जिल्ला अदालतमा थुनछेक हुँदा ५ जना प्रतिवादीमध्ये तीन जनालाई पुर्पक्ष र दुईजनालाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।
सुनसरी हरिनगर १ का २२ वर्षीय शाहिद हुसैन अन्सारी, बिर्तामोड ५ का ४५ वर्षीय नवराज राई र बिर्तामोड ३ बस्ने २१ वर्षीय बादल राजवंशीलाई पुर्पक्षमा पठाउने आदेश भएको हो । बाँकी दुईजना बिर्तामोड ५ की २४ वर्षीया पूजा मगर र अर्जुनधारा ७ का २८ वर्षीय सुरज राईलाई जनही ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएकोमा धरौटी दिन नसकेपछि ती दुई जनालाई पनि झापा कारागारमा थुनामा पठाइएको झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसअघि बिर्तामोड ५ का २० वर्षीय राजन चौधरी, बिर्तामोड ५ का १६ वर्षीय आयुष धिमाल र बिर्तामोड ६ का २४ वर्षीय अनिश मण्डललाई कारागार पठाइसकिएको छ । कारागार चलान हुनेहरूमाथि दोहोरो र तेहेरो अभियोग रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले बताउनुभयो । नवराज राईमाथि तेहेरो अभियोग लागेको छ भने अनिश मण्डल, शाहिद हुसैन अन्सारी, पूजा राई र सुरज राईमाथि दोहोरो अभियोग लागेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकमा आक्रमण गर्ने १३ जना जेल चलान भएका थिए । तीन दिनअघि विभिन्न मितिमा पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो ।
जेनजी आन्दोलनका क्रममा झापाका प्रहरी कार्यालयहरूमा आक्रमण गर्ने ४६ जना पक्राउ परेका छन् । त्यसमध्ये २१ जना जेल चलान भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । चारजना नाबालकलाई अभिभावकको जिम्मा लगाइएको, तीनजना धरौटीमा रिहा भएको, ७ जना हाजिरी जमानीमा छुटेको र बाँकीमाथि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्