तपाईँ सुन्दै हुनुहुन्छः

सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ: मन्त्री गुप्ता

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभएको छ ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०१५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवारी चालक र ट्राफिक प्रहरी एक अर्काप्रति सकारात्मक हुनुपर्छ । तपाईँहरू सकारात्मक भए सवारी सञ्चालनमा सहज हुन्छ । सवारी चालकले ट्राफिक प्रहरी र नेपाल प्रहरीप्रति सकारात्मक हुनुहोला ।”

यसै गरी उहाँले दुई पाङ्ग्रे सवारीसाधनका घटना बढी हुने गरेको तथ्याङ्क देखिएकाले दुई पाङ्ग्रे सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोतसाधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने मन्त्री गुप्ताको भनाई थियो । सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिएको मन्त्री गुप्ताले स्पष्ट पार्नु भयो ।

यसै गरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले आम नागरिकको साथ सहयोगबाट ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले समुदाय स्तरमा रहेका समस्या समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी आम नागरिकको सेवामा खटिएका प्रहरी हौँ । हामी प्रत्येक नागरिकलाई सेवा दिन तयार छौँ ।”

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउ ज्यानका लागि खटिएकाले हामी सधैँ आम नागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी दुर्घटना एवं ट्राफिक व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button