तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा आइटिएफ जे३० टेनिस टुर अन्तर्गत पहिलो चरणका खेल सुरु, १६ देशका टेनिस खेलाडी पोखरामा 

पोखरा । पर्यटनको राजधानी पोखरामा ‘आइटिएफ जे ३० टेनिस टुर पोखरा’को आठौँ संस्करण अन्तर्गत पहिलो सर्किट आज (सोमबार) बाट सुरु भएको छ । अन्तर्राष्ट्रिय टेनिस महासङ्घद्वारा स्वीकृत प्राप्त उक्त प्रतियोगिता कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस सेन्टरमा सुरु भएको हो । 

मंसिर २७ गते दुई साता सम्म लगातार सञ्चालन हुने उक्त प्रतियोगितामा आइटिएफ वर्ल्ड टेनिस टुर जे३० सर्किट १ र २ अन्तर्गत १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको सङ्घले जनाएको छ । जसमा छात्रतर्फ ५५ र छात्रातर्फ २५ जना रहेका छन् । 

प्रतियोगितामा नेपालसहित भारत, चिन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, बङ्गलादेश क्यानाडा, अस्ट्रेलिया, कोरिया, युके, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल, हङकङका खेलाडीहरूको सहभागिता रहेको कास्की टेनिस संघका अध्यक्ष राज कुमार गुरुङले बताउनु भयो । प्रतियोगिता अन्तर्गत आज पहिलो चरणका केही खेलहरू जारी रहेको संघका सचिव भीष्मराज पौडेलले बताउनु भयो । 

प्रतियोगिता उद्घाटनको अवसरमा नेपाली टेनिसमा उदाएकी युवा खेलाडी शिवाली गुरुङलाई कास्की टेनिसले सम्मान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख ८७ हजार खर्च हुने आयोजकले जनाएको छ ।

यसैबिच, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका वरिष्ठ निर्देशक एवं प्रमुख मणीराज लामिछानेले प्रतियोगिताको उद्घाटन गर्दै आइटिएएफ जे३० टेनिस प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । दुई साता लगातार सञ्चालन हुने त्यसमा उहाँका आफन्तहरू समेत संलग्न हुनुले पोखरा क्षेत्रको खेल पर्यटनको राम्रो प्रमोसन हुने उहाँले दाबी गर्नुभयो । 

पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हब’ भएको बताउँदै प्रमुख लामिछानेले भन्नुभयो“ प्रतियोगिताले पोखरालाई खेलकुदको हबको रुपमा चिनाउन मात्रै नभई खेलकुदमार्फत पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको छ, मुलुकको विषम परिस्थितिमा पनि १६ देशका खेलाडीहरूको सहभागिता हुनु गर्वको विषय हो, यसलाई हामी सबैले प्रमोसन गर्नुपर्छ । ” प्रतियोगितामा छात्र एकल तथा डबल्स/छात्रा एकल तथा डबल्स गरी जम्मा ४ इभेन्टमा प्रतियोगिता सञ्चालन हुनेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button