तपाईँ सुन्दै हुनुहुन्छः

दैलेखमा थपिए २ हजार ६ सय बढी नयाँ मतदाता

दैलेख । दैलेखमा २ हजार ६ सय बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दैलेखमा २ हजार ६ सय ४२ नयाँ मतदाता थपिएका हुन् । 

राष्ट्रपतिबाट गत असोज ९ गते मतदाता नामावली सङ्कलन सम्बन्धी अध्यादेश जारी भएपछि जिल्ला निर्वाचन कार्यालय दैलेखले असोज १० गतेदेखि मङ्सिर पाँच गतेसम्म मतदाता नामावली सङ्कलन गरेको थियो ।

मतदाता नामावली सङ्कलन अवधिभर ६ सय ८२ जनाले निर्वाचन कार्यालय पुगेर बायोमेट्रिक गरी मतदाता नामावली बनाएको निर्वाचन कार्यालय दैलेखका प्रमुख नरबहादुर सलामीले बताउनुभयो । उहाँले १ हजार ९ सय ४४ जनाले राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावली बनाएको बताउनुभयो । अन्य जिल्लाका १६ जनाले समेत जिल्ला निर्वाचन कार्यालय दैलेख पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालय प्रमुख सलामीको भनाई छ ।

उहाँले ३१ जना मतदाता नामावलीमा नाम दर्ता गरेको भएपनि कागजपत्र नपुगेर होल्ड भएको जानकारी दिनुभयो । अन्य जिल्लाबाट मतदाता नामावली बनाएको विवरण पछि आउने हुँदा अहिले नै नयाँ मतदाता यति नै भए भनेर एकिन नहुने बताउनुभयो । पुसको १० गतेसम्म सबै विवरण आएपछि मात्र दैलेखमा कति नयाँ मतदाता थपिए भन्ने जानकारी प्राप्त हुने निर्वाचन अधिकारी सलामीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button