प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा पूर्व मन्त्रीहरू राम कार्की, जनार्दन शर्मा, सुदन किराँती र पूर्व सांसद सन्तोष परियार लगायतले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्नुभएको छ ।

काठमाडौँमा आज एक कार्यक्रमबीच डा. बाबुराम भट्टराईले पार्टीको औपचारिक घोषणा गर्नुभएको हो ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबिचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो ।
पार्टी एकता घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले घोषणा पत्र प्रस्तुत गर्दै विगतका विभिन्न आन्दोलन र पछिल्लो जेनजी विद्रोहको बलिदानी खेर जान नदिने राजनीतिक पहल अनिवार्य बनेकाले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको बताउनुभयो ।
उहाँले हालको विकृत राजनीतिलाई सुधार्दै आर्थिक, राजनीतिक एवं सांस्कृतिक रूपले सुदृढ र समतामूलक राष्ट्र निर्माणका साधनका रूपमा पार्टी स्थापना भएको बताउनुभयो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीमा एक सय ५१ जना केन्द्रिय सदस्यहरू रहने प्रस्ताव गरिएको छ । डा. बाबुराम भट्टराई पार्टीको अभिभावकीय भूमिकामा रहने बताइएको छ ।
पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेताहरूले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्