तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित र दिगो विकासका लागि ‘बेलौरी घोषणा पत्र–२०८२’ सार्वजनिक 

कञ्चनपुर । जलवायु परिवर्तनका कारण विश्वभर बढ्दो सङ्कट, मानव(वन्यजन्तु द्वन्द्वको तीव्रता तथा विपद्‌को गम्भीरता बढ्दो क्रममा रहेको वर्तमान परिस्थितिमा कञ्चनपुरका स्थानीय तहहरूले सामूहिक पहलमार्फत दिगो, समावेशी र उत्थानशील विकासमा जोर दिने प्रतिबद्धता व्यक्त गरेका छन् । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यता तथा कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको विशिष्ट आतिथ्यतामा पाँचौँ कञ्चनपुर सम्मेलन–२०८२ बेलौरी नगरपालिकामा सम्पन्न भएको बेलौरी नगरपालिका विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति अशोक पाण्डेयले जानकारी दिनुभयो ।

जिल्लास्थित सबै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको सक्रिय सहभागितामा सम्पन्न सम्मेलनले ‘बेलौरी घोषणा पत्र–२०८२’ सार्वजनिक गरेको छ । विश्वव्यापी जलवायु सङ्कटले विपन्न तथा जोखिमयुक्त समुदायमा पारिरहेको गम्भीर प्रभावलाई उद्धृत गर्दै सम्मेलनले कञ्चनपुर जिल्लामा विपद् जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका प्रयासलाई अधिक एकीकृत, प्रभावकारी र योजनाबद्ध रूपमै अघि बढाउने निर्णय गरेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

जलवायु परिवर्तनका चुनौतीलाई स्थानीय स्तरमै समाधान गर्ने दृष्टिकोणसहित प्रस्तुत घोषणा पत्रलाई कञ्चनपुरका नौ वटै स्थानीय तहले स्वीकार गरेका छन् । स्थानीय सरकारहरूबिचको यस्तो सामूहिक प्रतिबद्धता नेपालमा विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनको दिगो मोडेलका रूपमा उदाउँदै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टको भनाइ छ । 

राजनीतिक नेतृत्व, स्थानीय सरकार, नागरिक समाज, महिला तथा युवा समूह, सुरक्षा निकाय र सरोकारवाला निकायहरूको संयुक्त उपस्थिति तथा साझा घोषणाले कञ्चनपुरलाई जलवायु अनुकूल तथा सुरक्षित जिल्ला बनाउने दिशामा नयाँ ऊर्जा प्रदान गर्ने विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव गोविन्द प्रसाद रिजालले विश्वास व्यक्त गर्नुभयो । बेलौरी घोषणाले स्थानीय तहबाटै दिगो विकास र जलवायु न्याय सुनिश्चित गर्ने मार्गचित्र प्रस्तुत गरेको छ ।

घोषणा पत्रका मुख्य बुँदाहरू:

१. दिगो विकास, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति र अभ्यासलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने,

२. सबैका लागि पूर्वसूचना प्रणाली र पूर्वानुमानमा आधारित पूर्व कार्यलाई समुदायस्तरमा सुदृढ बनाउन सहकार्य र साझेदारी विस्तार गर्ने,

३. सुरक्षित पूर्वाधार, पूर्वतयारी र आवश्यक प्रणाली निर्माणका लागि वित्तीय स्रोत र लगानी बढाउने,

४. विपद् आउँदा हुने आर्थिक क्षति न्यूनीकरणका लागि बिमा लगायत विपद् जोखिम हस्तान्तरणका उपायलाई प्राथमिकता दिने,

५. प्रकृतिमा आधारित समाधानलाई विपद् न्यूनीकरण, जलवायु अनुकूलन र जलाधार व्यवस्थापन योजनामा समावेश गर्ने,

६. कञ्चनपुरका मुख्य नदी प्रणाली र जलाधार क्षेत्रको विस्तृत अध्ययन तथा जोखिम नक्सांकन गरी स्थानीय संरचनाको अगुवाइमा उत्थानशीलता कार्यक्रम सञ्चालन गर्ने,

७. विपद् तथा जलवायु अनुकूल पूर्वाधार निर्माण सुनिश्चित गर्दै स्थानीय विकास योजनामा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई आत्मसात् गर्ने,

८. मानव(वन्यजन्तु द्वन्द्वबाट उत्पन्न जोखिम न्यूनीकरण तथा अनुकूलनका कार्यक्रमलाई बहुपक्षीय समन्वय र साझेदारीमार्फत एकीकृत रूपमा अघि बढाउने,

९. जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनका विषयवस्तु स्थानीय पाठ्यक्रममा समावेश गर्ने,

१०. जलवायु तथा विपद् सम्बन्धी साझा मुद्दामा यस मञ्चमार्फत संयुक्त पैरवी गर्ने, सम्मेलनको निरन्तरता कायम राख्ने तथा प्रत्येक ६र६ महिनामा बैठक बस्ने प्रतिबद्धता जनाउने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button