तपाईँ सुन्दै हुनुहुन्छः

तीन महिनामा पूर्वी नाकाबाट ४० करोडको फलफूल आयात

भद्रपुर, झापा। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक (साउन, भदौ, असोज)–मा पुर्वी नाका काँकडभिट्टाबाट ४० करोड ४४ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको फलफूल आयात भएको छ । 

गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा फलफूलको आयात १९ करोड ८९ लाख पाँच हजार रुपैयाँ अर्थात् ८९.०४ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा काँकरभिट्टा नाका भएर २१ करोड ३५ लाख ५० हजार रुपैयाँको फलफूल आयात भएको थियो ।

यस अवधिमा मुख्य रुपमा स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल विदेशबाट आयात भएका छन् । नेपालमा फलफूलको व्यावसायिक खेती नहुँदा वा फलफूल उत्पादन वृद्धि गर्न नसक्दा आयात बढेको फलफूल व्यवसायी मेचीनगर–९ का डिल्ली उप्रेतीले बताउनु भयो ।। नेपालमा मागअनुसार फलफूल उत्पादन नहुनु, नेपालीमा फलफूल खानेको सङ्ख्या बढ्नु आयात वृद्धिको कारण भएको उहाँले बताउनु भयो ।

नेपालमा भारत, बङ्गलादेश, थाइल्याण्ड, अस्ट्रेलिया, मलेसिया, दक्षिण अफ्रिका, चीन, फिलिपिन्स, अमेरिका, कोरियालगायतका मुलुकबाट फलफूल आयात हुने गरेको भन्सार अधिकारीहरुले बताएका छन् ।

मेची भन्सार नाका भएर मूल्यको आधारमा आयात भएका १० वस्तुको तुलनात्मक विवरण अनुसार फलफूल पाँचौँ स्थानमा रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button