शीत लहर जोखिम न्यूनीकरणमा स्रोत र समन्वय प्राथमिक : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीत लहर र दैवी–प्रकोप व्यवस्थापनका लागि स्रोत व्यवस्थापन, क्षेत्रगत सहकार्य र प्रभावकारी उद्धार टोलीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको बैठकमा गृहमन्त्री अर्यालले शीत लहर जोखिमका कारण सडक, विद्युत्, पर्यटनलगायतका क्षेत्रमा देखिन सक्ने जोखिम न्युनिकरणका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री अर्यालले सामाजिक सञ्जालका माध्यममार्फत समयमै पूर्व–सूचना प्रवाह, सबै स्वास्थ्य संस्थामा औषधि तथा जनशक्ति परिचालन र आवश्यक सामग्री तयारी अवस्थामा राख्नु पर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले हिमपात र शीतलहर रोकथाममा तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको औँल्याउँदै विपद व्यवस्थापनमा विगतमा जस्तै पूर्व प्रतिकार्यात्मक उपाय अपनाइएको जानकारी दिनुभयो ।
भर्चुअल बैठकमा जोडिनु भएका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले हिमपात–शीतलहरूको जोखिमका समयमा संवेदनशील क्षेत्र पहिचान, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणमा सचेतना र पूर्व–सूचना प्रसारण बढाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँहरूले हिमपातका बेला कठिन भूगोलमा पर्यटक प्रभावित हुने, विद्युत् अवरुद्ध हुने, लेक लाग्नेलगायतका जोखिम बढ्ने भएकाले जोखिम क्षेत्रमा अवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन गरिनुपर्ने तथा हेलिकप्टरमार्फत उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्