गढी संरक्षणमा सेना

दोलखा । विगतका युद्धमा सुरक्षाको लागि नेपाली सेनाले विभिन्न स्थानमा निर्माण गरेको गढी संरक्षण तथा प्रवर्द्धन गर्न दोलखा सदरमुकाम चरिकोटमा रहेको गरुड दल गणले अभियान सुरु गरेको छ ।
अभियानको क्रममा दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर– ४ मा रहेको ऐतिहासिक देउराली गढीको संरक्षण एवम् प्रवर्द्धन सुरु गरिएको गरुड दल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।

ऐतिहासिक महत्वको देउराली गढीको संरक्षण गर्न गरुड दल गणले त्यस क्षेत्रमा सरसफाई, तारवार लगायतको काम गरेको गणपति लोक सागर कटुवालको भनाई छ ।
नेपाली सेनाले नेपालको पूर्वी भागको सुरक्षा गर्न, तिब्बत तर्फ जाने व्यापारिक मार्गको सुरक्षा तथा सिन्धुली गढीको युद्ध असफल भएमा वैकल्पिक रणनीतिक स्थानको रुपमा देउराली गढीको निर्माण गरिएको इतिहास पाइन्छ ।
देउराली गढी संरक्षण र प्रवर्द्धनका लागि तामाकोसी गाउँपालिकाले २०७४ साल देखिनै मन्दिर निर्माण, बाटो निर्माण, गेट निर्माण जस्ता कामहरू गर्दै आएको र अहिले पनि नेपाली सेनाको गरुड दल गणसँगको सहकार्यमा गढी संरक्षणको लागि विभिन्न काम गरिएको तामाकोसी गाउँपालिकाका उपाध्यक्ष सृजना खड्का सुवेदीले बताउनु भयो ।

तामाकोसी गाउँपालिका वडा नम्बर– ५ किर्नेटारमा रहेको जाल्पादेवी मन्दिरको इतिहास पनि सेनासँगै जोडिएकोले यसको संरक्षण र प्रवर्द्धन लागि समेत गरुड दल गणसँग सहकार्य गर्ने पालिका उपाध्यक्ष सुवेदीले बताउनु भयो ।
किर्नेटारमा रहेको जाल्पादेवी मन्दिर १७४० मा भोटमा लडाई गरेर फर्किएका सैनिकहरूले निर्माण गरेको इतिहास पाइन्छ । किंवदन्ती अनुसार भोटमा लडाई गर्न हिँडेका सैनिकले मन्दिर भएको ठाउँमा युवती नाचेको देखे । ती युवती देवी हुन् भन्ने चिनेपछि उनीहरूले लडाई जितेर फर्किए मन्दिर बनाइदिने वचनबद्धता सहित देवीसँग आर्सीवाद लिएर लडाइँमा गए । र, लडाई जितेर फर्किए पछि जाल्पादेवी मन्दिरको स्थापना गरिदिए ।
दोलखा जिल्लामा जाल्पादेवी मन्दिर, चरिकोट स्थित चरिघ्याङ गढी, १२ सय पल्टन लगायत सेनासँग इतिहास जोडिएको थुप्रै ऐतिहासिक महत्वको स्थान रहेकोले ती स्थानहरूको पहिचान, संरक्षण र प्रवर्द्धन लागि गरुड दल गणले अभियान नै सुरु गरेको गणपति कर्णेल लोक सागर कटुवालले बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्