चितवनका पत्रकारलाई दुई दिने आर्थिक पत्रकारिता तालिम
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयोजना तथा नेपाल पत्रकार महासङ्घ चितवनको सहकार्यमा चितवनका पत्रकारलाई आर्थिक पत्रकारिता तालिम दिइएको छ । आइतबारबाट उद्योग वाणिज्य सङ्घको परिसरमा सुरु भएको तालिमको संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले समुद्घाटन गर्नुभएको हो ।

प्रशिक्षक द्वय मोदनाथ ढकाल र यज्ञ बन्जाडेलाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको औपचारिक सुरुवात गरिएको थियो । उद्घाटनको क्रममा संघका अध्यक्ष श्रेष्ठले चितवनका पत्रकारहरूको दक्षता अभिवृद्धिमा सङ्घले विगतदेखि नै आर्थिक पत्रकारिता तालिम दिइएको बताउँदै यसले चितवन आधार क्षेत्र बनाएर पत्रकारिता गर्ने विद्यार्थीलाई थप निखार्न मदत पुग्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष बसन्त पराजुलीले तालिममा सहभागी पत्रकारहरूलाई प्रशिक्षकहरूबाट सक्दो ज्ञान लिन आग्रह गर्नुभयो । उहाँले चितवनका पत्रकारहरूलाई आवश्यकताको आधारमा तालिम दिँदै आइरहेको भन्दै आगामी दिनमा थप तालिम लगायतका कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
तालिममा प्रशिक्षक ढकालले आर्थिक समाचारका विषय उठान, एन्गल, तथ्याङ्क सङ्कलन तथा विश्लेषणका बारेमा प्रशिक्षण दिनुभएको थियो । अर्का प्रशिक्षक बन्जाडेले शेयर बजार, बैङ्क तथा वित्तीय कम्पनीका समाचार तयार पार्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा प्रशिक्षार्थी पत्रकार सूर्य अधिकारीले हरेक क्षेत्रमा आर्थिक पाटो जोडिने भन्दै मोफसलमा बिट पत्रकारिताको अभ्यास हुनुपर्ने बताउनुभयो । आर्थिक पत्रकारितामा पत्रकारको रुचि भए पनि विषयवस्तु छनोट तथा तथ्याङ्क सङ्कलनमा अनविज्ञ हुँदा समस्या हुने बताउनुभयो ।
दुई दिनसम्म सञ्चालित तालिम सोमबार सकिएको हो । तालिममा राष्ट्रिय तथा स्थानीय पत्रिका, टेलिभिजन, अनलाइन पत्रिकाका २५ जना भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्