तपाईँ सुन्दै हुनुहुन्छः

चौदण्डीगढी नगरपालिकाका ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परिक्षण सुरु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिका क्षेत्र भित्रका ज्येष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्न सुरु गरेको छ ।

सोमबार नगरपालिकाका मेयर कालुमान लामाले वडा नम्बर २ बाट घुम्ती सेवाको सुरुवात गर्नुभयो । मेयर लामाले नगर भित्रका अशक्त, ज्येष्ठ नागरिकहरू जो हिँडेर वा टेम्पुहरूमा बसेर अस्पताल सम्म पुग्न सक्नु हुन्न वहाँहरूलाई घर—घरमै सेवा दिने गरि नगरपालिकाले ज्येष्ठ नागरिक घुम्ती सेवा स्वास्थ्य परिक्षण सुरु गरेको बताउनुभयो ।

चौदण्डीगढी नगरपालिकाले दलित, अशक्त र विपन्न वर्गका ७५ वर्ष भन्दा माथी र ८० वर्ष भन्दा माथिका गैर दलित ज्येष्ठ नागरिकहरूको घरमै पुगेर स्वास्थ्य परिक्षण र नगर अस्पतालबाट उपलब्ध औषधी समेत निःशुल्क उपलब्ध गराउने जनाएको छ । सोमबार बाट सुरु भएको यो अभियान नगरको दश वटै वडामा सञ्चालन हुने छ ।

घुम्ती शिविरमा रक्तचाप, मधुमेह  लगायतका रोगहरूको निःशुल्क चेकजाँच गरिने चौदण्डीगढी नगर अस्पतालका प्रमुख डाक्टर अजय खड्काले जानकारी दिनुभयो । यसका लागि नगरपालिकाले एक जना एमबिबिएस डाक्टर, एक जना अहेव र एक जना अनमी परिचालन गरेको छ ।

कतिपय वृद्धवृद्धाका घरमा स्वास्थ्य चौकीसम्म पुगेर औषधी लिइदिने व्यक्ति समेत नभएको अवस्थामा नगरपालिकाले यसरी घुम्ती शिविरको आयोजना गरेर घर घरमै सेवा दिएको भन्दै स्थानीय चौदण्डीगढी २ का ८१ वर्षिया फुलमाया तामाङले खुशी व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button