मधेश प्रदेशमा ८० हजार नयाँ मतदाता थप
जनकपुरधाम । अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगले ५ दिन म्याद गरे पनि निर्वाचन कार्यालयहरूमा पहिला जस्तो भिड देखिँदैन ।

खास गरेर आफैले नै मतदाता परिचयपत्रका लागि विवरण भर्न पाउने र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकको आधारमा मतदाता परिचयपत्रमा लिङ्क गर्न मिल्ने भएकाले निर्वाचन आयोगका कार्यालयहरूमा सेवाग्राहीको चापमा कमी आएको हो ।
जनकपुरधाम स्थित मधेश प्रदेश निर्वाचन कार्यालयमा पहिला जस्तो भिडभाड नरहेको कार्यालयका कम्प्युटर अधिकृत कृष्ण राउतले जानकारी दिनुभयो । तर प्राविधिकको ज्ञानको अभाव भएकाहरू अहिले पनि दैनिक रुपमा १ हजारको सङ्ख्यामा आउने गरेको सो कार्यालयले जनाएको छ ।
मधेश प्रदेश निर्वाचन कार्यालयमा हिजोको मितिसम्ममा १२ हजार ३६ जना नयाँ मतदाता थप भएको छ भने मधेश प्रदेशको ८ जिल्लाबाट ७९ हजार ३ सय ९१ जना नयाँ मतदाता थप भएको कार्यालयका कम्प्युटर अधिकृत राउतले जानकारी दिनुभयो ।
मङ्सिर ५ गतेसम्म म्याद रहेकाले अझै केही मतदाता थप हुने सो कार्यालयले जनाएको छ । यसका साथै राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता परिचयपत्रका लागि विवरण भर्नेहरूको सङ्ख्या यसमा नजोडिएको कार्यालयले जनाएको छ । अहिले जिल्ला प्रशासन कार्यालय धनुषा सहितका अन्य जिल्ला प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ ।
नयाँ मतदाता परिचयपत्रका लागि आउनेहरूमा अधिकांश नयाँ पुस्ताका युवाहरू बढी मात्रामा रहेका छन् । अगामी निर्वाचनमा कोही पनि नछुटोस् भन्नका लागि सरकारको आग्रहमा आयोगले पाँच दिन मतदाता परिचयपत्र बनाउने म्याद थप गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्