पर्साको दक्षिणी भेगमा अज्ञात कीराबाट धानबालीमा क्षति
वीरगञ्ज । पर्सा जिल्लाको दक्षिणी भेगमा पर्ने विभिन्न पालिकाहरूमा अज्ञात कीराले धानबालीमा ठूलो क्षति पुर्याएको छ ।
पोखरिया नगरपालिका–९, सेमरवारी बर्वाका किसान अमिर ठाकुरका अनुसार फौजी कीराजस्तै देखिने उक्त कीरा विशेष गरी रातिको समयमा सक्रिय भई धानबाली खाइदिने गरेको छ । दिनभरि बोटमुनि लुकेर बस्ने र राति बालीमा आक्रमण गर्ने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी उमेश थापाले किसानहरूले देखिरहेको कीरा ‘इयरहेड कटिङ पिलर’ नामक प्रजातिको किरा भएको बताउनुभयो । उहाँका अनुसार हाल पर्सा, बारा र रौतहटका दक्षिणी क्षेत्रको धानबालीमा यस कीराले व्यापक क्षति गरिरहेको छ ।
कृषि ज्ञान केन्द्रले प्रभावित क्षेत्रका किसानलाई रातिको समयमा एकसाथ कीटनाशक औषधि छर्कन सुझाव दिएको छ । त्यस्तै कीटनाशक विषादी प्रयोग भएपछिका २० दिनसम्म धानबाली नकाट्न आग्रह गरेको छ ।
छोटो समयमै धान काट्नुपर्ने किसानका लागि भने तत्काल धान काटेर त्यही दिन धान झारेमा समस्या हुँदैन, तर काटेर खेतमा राख्दा कीरा फेरि सक्रिय भएर बाली नोक्सान पुर्याउन सक्ने थापाले बताउनुभयो ।
पर्सामा इयरहेड कटिङ पिलर कीराको प्रकोप मुख्यतः गण्डक नहरदेखि दक्षिणी क्षेत्रमा रहेको छ । गण्डक नहरदेखि उत्तर रहेको थरुहट क्षेत्र, जसमा ठोरी, जीराभवानी, पटेर्वासुगौली, पर्सागढी लगायतका स्थान पर्छन्, त्यहाँ यो कीरा नदेखिएको स्थानीय किसानले बताएका छन् ।
कीराको प्रकोपले सखुवाप्रसौनी, विन्ध्यवासिनी, छिपहरमाई गाउँपालिका र पोखरिया नगरपालिकाका क्षेत्रमा धानबालीमा उल्लेख्य नोक्सानी पुर्याएको छ ।








प्रतिक्रिया राख्नुहोस्