तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ‘स्टुडेन्ट अफ द इयर नेपाल’सुरु हुँदै

झापा । नेपालमा पहिलोपटक र सबैभन्दा ठूलो विद्यार्थी ट्यालेन्ट हन्ट प्रतियोगिता ‘स्टुडेन्ट अफ द इयर नेपाल २०२५’ हुने भएको छ ।

आयोजक स्टुडेन्ट अफ द इयर नेपाल राष्ट्रिय समितिका अनुसार यो विद्यार्थी ट्यालेन्ट हन्ट प्रतियोगितामा १३ वर्षदेखि २१ वर्ष समूह (कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी)–ले सहभागिता जनाउन पाउनेछन् ।

यो प्रतियोगिताको पहिलो अडिसन झापाको बिर्तामोडमा आगामी मङ्सिर ६ गते स्थानीय लिटल फ्लावर्स इङलिश स्कुलमा हुने कार्यक्रमका निर्णायक युवा वैज्ञानिक आरिफ अलिले जानकारी दिनुभयो । बिर्तामोडपछि धरान, विराटनगर, जनकपुर, चितवन, पोखरा, बुटवल, धनगढी, ललितपुर, भक्तपुर र काठमाडौँमा अडिसन हुनेछ । त्यसको तालिका सार्वजनिक भइसकेको उहाँले बताउनुभयो ।

प्रतियोगीहरूले दर्ता शुल्कबापत ९९९ रुपैयाँ बुझाउनुपर्नेछ । त्यसबाहेक अन्य कुनै शुल्क नलाग्ने बताइएको छ । देशभरिका अडिसनबाट पहिलो चरणमा २०० प्रतियोगी छनोट गरी काठमाडौँमा दोस्रो चरणमा ४० जना र तेस्रो चरणमा १० प्रतियोगी छनोट हुने र विजेता घोषणा हुने आयोजकले जनाएको छ । यो कार्यक्रम हिमालय टिभी र ओसीआर रियालिटीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

स्टुडेन्ट अफ द इयरका क्रिएटिभ हेड इम्रान अलिले यो प्रतियोगिता प्रतिस्पर्धा मात्र नभएर नेपाली विद्यार्थीहरूको सम्भावनालाई विश्वसामु देखाउने एउटा राष्ट्रिय अभियान रहेको बताउनुभयो । अनुमानित एक करोड रुपैयाँ खर्च हुने यस प्रतियोगिताको विजेताले नगद ५ लाखसहित ट्रफी र ५ लाख बराबरको छात्रवृत्तिसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।

स्टुडेन्ट अफ द इयरका निर्माता दिव्य सापकोटाले विद्यार्थीहरूले एउटै मञ्चमा आफ्नो बहुमुखी प्रतिभा देखाउने अवसर प्राप्त गर्ने बताउनुभयो । उहाँले यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । 

प्रतियोगितामा मोटिभेशनल स्पिकर तथा पूर्व बैंकर अनिल केशरी साह, अभिनेत्री प्रियङ्का कार्की र युवा वैज्ञानिक आरिफ अलि निर्णायकमा रहनुहुनेछ । कार्यक्रम सञ्चालन लोकप्रिय टिकटकर तथा फेसन मोडेल इभा गिरीले गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button