सर्वपक्षीय सहमति बिना मुलुकमा निर्वाचन सम्भव छैन: एमाले नेता अधिकारी
नेपालगञ्ज। नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले सर्वपक्षीय सहमति बिना मुलुकमा निर्वाचन सम्भव नभएको दाबी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल सरकारका पूर्व गृह मन्त्री एवम् गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले नवयुवालाई समेत समेटेर सर्वपक्षीय सहमति गरी सरकार गठन गर्न सके मात्र निर्वाचन सम्भव हुने दाबी गर्नुभएको हो ।
उहाँले निश्चित अवधिका लागि संसद् पुनः स्थापना गरी संविधानमा आवश्यक संशोधन गरेर एक पटकलाई संसद् बाहिरको व्यक्ति पनि प्रधानमन्त्री हुने व्यवस्था गर्न सके अहिलेको गतिरोधको हल हुने जिकिर गर्नुभयो । राजनीतिक दलको मुख्य नेतृत्वसँग संवादै गर्न नचाहने सरकारले निर्वाचन गर्न नसक्ने अधिकारीको जिकिर छ । सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय उच्चस्तरीय आयोग बनाएर अघि बढ्न एमालेलाई आपत्ति नरहेको भन्दै उहाँले प्रतिशोध साँधेर सही ठाउँमा पुग्न नसकिने बताउनुभयो ।
भदौ २४ गते भएको विध्वंस नियोजित भएको बताउँदै उहाँले आपराधिक गतिविधिमा संलग्नहरूमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्यहरू मो. हारुन, सूर्य ढकाल लगायतको उपस्थिति थियो ।







प्रतिक्रिया राख्नुहोस्