तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनको भीड (फोटो फिचर)

नेपालगन्ज । बाँकेमा मतदाता नामावलीमा नाम दर्ता गराउनको भीड बढेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि गएको असोज १० गतेदेखि यही कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा तोकिएपछि निर्वाचन कार्यालय बाँकेमा भीड बढेको हो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार हिजो आज दैनिक तीन सय बढी नयाँ मतदाता नामावली दर्ताका लागि कार्यालय आउने गरेका छन् । कार्तिक २१ गतेसम्म बाँकेमा ५ हजार २२९ जना नयाँ मतदाता थपिएका छन् । ती मध्ये पुरुष २ हजार ६०६ र महिला २ हजार ६२३ जना रहेको शाहीले बताउनुभयो । उहाँका अनुसार अधिकांश मतदाता नव युवा छन् । १८ देखि २५ वर्ष उमेर समूहका बढी छन् ।

मतदाता नामावलीका लागि नाम दर्ता गराउन निर्वाचन कार्यालय पुगेका नेपालगन्जका २५ वर्षीय विरेन्द्र कुमार यादवले आगामी निर्वाचनमा मतदान गर्न आतुर रहेको बताउनुभयो । मुलुकको बदलिँदो राजनीतिक घटनाक्रमसँगै केही आशा देखिएकाले पहिलो पटक मतदान गर्नका लागि आफूले मतदाता नामावलीमा नाम दर्ता गराएको उहाँले बताउनुभयो । कोहलपुरकी २० वर्षीया लक्ष्मी सुनार पनि मतदाता नामावलीमा नाम दर्ता गराउँदा उत्साहित देखिनुहुन्छ । देशको विकास गर्ने प्रतिनिधिलाई मतदान गर्ने योजना उहाँले बनाइसक्नुभएको छ ।

बाँकेमा २०७९ सालको निर्वाचनमा ३ लाख ३३ हजार ९३४ जना मतदाता थिए । त्यसमा १ लाख ६९ हजार ८७६ पुरुष, १ लाख ६४ हजार ४९ महिला र अन्य ९ जना थिए । निर्वाचन कार्यालयमा अहिले नयाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने, त्रुटि सच्चाउने, ठाउँसारी गर्ने लगायतका कामहरू भइरहेको कार्यालय प्रमुख शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button