कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सुरु, दुर्गम बस्तीका नागरिकलाई राहत
बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिका–१ कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सोमबारदेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविर सुरु गरिएको छ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य स्थानीयलाई लक्षित गरी बुढीनन्दा नगरपालिकाले एक एक पाइला र गेटा आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन गरेको हो।
शिविरमा आँखा रोग तथा मोतीबिन्दुको निःशुल्क शल्यक्रिया, छाला रोग, कान–नाक–घाँटी, दन्त रोग, स्त्री तथा प्रसूति, कलेजो, हाड–जोर्नी, बाल रोग, जेनेरल मेडिसिन, प्याथोलोजी, इन्डोस्कोपी, रेडियोलोजी र फार्मेसी सेवा निःशुल्क रूपमा प्रदान गरिने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख जनक कुमार बोहराका अनुसार दुर्गम गाउँ बस्तीमा बसोबास गर्ने गरिब, दलित र विपन्न वर्गका नागरिकलाई सहज रूपमा उपचारको पहुँच पुर्याउने उद्देश्यले पाँच वर्षसम्म प्रत्येक वर्ष यस्तो स्वास्थ्य शिविर सञ्चालन गर्ने सम्झौता गरिएको हो।
दुर्गम गाउँ बस्तीमा रोग लागे पनि आर्थिक अभावका कारण धेरै जना उपचार गर्न सक्दैनन्। त्यस समस्याको समाधानका लागि यो शिविर आयोजना गरिएको प्रमुख बोहराले बताउनुभयो।
यस वर्षको शिविरमा पहिलो पटक कानको अप्रेसन लेजर प्रविधिबाट गरिने भएको छ। दुर्गम क्षेत्रमा यो प्रविधिबाट अप्रेसन पहिलो पटक हुन लागेको हो। यसले यहाँका स्थानीय नागरिकका कान सम्बन्धी समस्या समाधानमा ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्