सहकारी ठगी आरोपमा व्यवस्थापक पूर्पक्षका लागि थुनामा
पाल्पा । पाल्पामा सहकारी ठगी आरोपमा सहकारीका व्यवस्थापक पूर्पक्षका लागि थुनामा परेका छन् । रम्भा गाउँपालिका–४, हुमिनमा मुख्य कार्यालय रहेको लालीगुँरास बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक विष्णुबहादुर बमरेललाई जिल्ला अदालत पाल्पाले पुर्पक्षमा लागि थुनामा पठाउने आदेश दिएको ।
सहकारी ठगी मुद्रामा बमरेललाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार केशव पराजुलीले जानकारी दिनुभयो । सहकारीको झण्डै दुई करोड ८७ लाख ५७ हजार रकम हिनामिना गरेको आरोपमा गत साउन २८ गते जिल्ला प्रहरी कार्यालय पाल्पाले बमरेललाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीको अनुसन्धानपछि अदालतमा सहकारी ठगी सम्बन्धी मुद्दा दायर गरिएको थियो । बमरेलमाथि सहकारीमा नक्कली ऋणी खडा गरी करोडौँ रकम हिनामिना गरेको आरोप छ । सहकारी संस्थाले रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकामा सेवाक्षेत्र बनाएर काम गर्दै आएको थियो ।
सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीलाई समेत झुक्क्याएर बमरेलले रकम हिनामिना गरेको भन्दै सञ्चालकले नै प्रहरीमा उजुरी दिएपछि छानविन अगाडि बढेको थियो । सहकारीका बचतकर्ता अझैपनि रकम फिर्ता पाउने आशमा छन् ।








प्रतिक्रिया राख्नुहोस्